त्यहाँ यौटा मन्दिर बन्दै थियो। गाँउमै धार्मिक र समाजसेवी भनेर चिनीएका एकजना भलादमीले आफ्नै निजि खर्चमा सो मन्दिरको निर्माण गर्न लागेकाले ति भलादमी निकै व्यस्त देखिन्थे र निर्माण स्थलमा बसेर सबैलाई छिटो छिटो काम गर्न हौस्याई रहन्थे ।
एक दिन यस्तै छिटो काम गर्ने हतारोमा यौटा डकर्मीले मन्दिरको सीढीं नै अलिकता बाङ्गो बनायो । डकर्मीले डराई डराई सो कुरा ति धार्मिक व्यक्तिलाई बतायो । “सीढीं अलिकता बाङ्गो भएर के भो र?, तल माथी गर्न मिले त भै गो नी … ” उसले निक्कै सरलताका साथ डकर्मीको गल्तिलाई पन्छायो ।
अर्को दिन कामको चटारोमा टुँडालमा कुदीएको बुट्टा नै बिग्रियो, तर सिकर्मीले माफी माग्नु अगाडी नै ति भलादमीले “… काम गर्दा गल्ति त भै हाल्छ नी, … यसलाई पछि सुधारौंला नी …” भनेर सिकर्मिको ढाडस बढाए ।
उता निश्चित दिनमै मुर्ती अनावरण नगरी नहुने उच्च दबाबमा मुर्ती कुँद्दा कुँद्दै मुर्तिको आँखा पनि सानो ठुलो बन्यो । शान्त स्वभावका ति भलादमीले उल्टै “शास्त्रले पनि भावे हि बिद्येते देवो … भनेर भाव मै जोड दिएको छ, मुर्ती त केवल यौटा प्रतिक मात्रै त हो नी !” भनेर मुर्तिकारलाई आश्वस्त बनाए । मन्दिर निर्माणमा लगेका सबैजना उसको विद्वता, शान्त स्वभाव, धार्मिक आस्था र शास्त्रीय ज्ञान देखेर ओतप्रोत भएका थीए ।
त्यस्तैमा निश्चित समयमै मन्दिर बन्यो र मुर्ती पनि स्थापनाकोलागी तयार भयो ।ति धार्मिक व्यक्तिले देशकै ठुलो नेतालाई ल्याएर मन्दिरको धार्मिक उत्सबकासाथ अनावरण गराउन लागेका थिए । नभन्दै तोकीएको दिनमा देशका उच्च पदस्थ नेता आए र मन्दिर अगाडी बनेको शिलालेखबाट रातो कपडा हटाएर सो मन्दिरको उद्घाटन गरे ।
ति धार्मिक व्यक्तिको नजर अचानक सो शिलालेखमा कुँदीएको आफ्नो नाममा पुग्यो, छिना अलि बढि मारीएर त्यसमा उसको नाम अलिकता धमिलो र अस्पष्ट भएको रहेछ । यो देख्ने बित्तीकै तिनको ब्रह्माण्ड खल्बल्लीयो र रिसले तिनको आँखा राता राता भए। अनी रिस थाम्नै नसकी तिनि मुठ्ठी बटार्दै कराए “ हैन! यो कसले लेखेको हो?, हात बाङ्गीएको …आँखा फुटेको …” ।