त्यो पसल उसको बाजेको पालामा खुलेको थियो । त्यहाँ खाद्यवस्तुहरु बेचिन्थे र सबै चिजहरु शुद्ध र मिसावटरहित हुन्थे । त्यतिबेला न त पसलको कुनै साईनबोर्ड थियो, न त शुद्धताको कुनै विज्ञापन ।
उसको बाजे पछि उसको बाबुले पसल चलाउन थाले । बाबुको पालासम्ममा समाज निकै परिवर्तन भैसकेको थियो, त्यसैले छिट्टै धनि बन्ने उपाएहरु अपनाएर उसको बाबुले दूधमा पानी, बेसारमा पीठो, महँगो चामलमा सस्तो चामल आदि मिसाएर व्यापार गर्न थाले । ग्राहकहरुको विश्वास यथाबत राख्नका लागी भने पसल बाहिर एउटा बोर्ड झुण्ड्याईयो :- “यहाँ शुद्ध र असली खाद्यबस्तुहरु पाईन्छन्”।
बाबुको शेषपछि आजकल ऊ आफैं पसल चलाउँछ । उसको हातमा पसल आएपछि पसलको आकार र स्वरुप नै परिवर्तन भईसकेको छ । आजकल त्यो पसलमा गाईको घ्युको त कुरै छाडौं, शुद्ध वनसपति घ्यू पनि पाइँदैन । दूधमा पानी हैन पानीमा दूध मिलाएर बेचिन्छ र पसलमा कुनै चीज शुद्ध पाइँदैन । तर पसल बाहिरको बोर्डमा भने अझै गहकिलो र आकर्षक विज्ञापन राखीएको छ:- “यहाँ अति शुद्ध र पूर्ण असली खाद्यबस्तुहरु मात्रै बेचिन्छ … मिसावट भएको प्रमाणित गर्नेलाई रु १ हजार रुपैया पुरस्कार”।
(१९-१२-२०५५, साप्ताहिक)