स्वागतम्। तपाइ घुम्दै फिर्दै यहाँ आईपुग्नु भएको हो भने मेरो मुख्य ब्लग अब यहाँ छ ।

30 December 2007

त्यो देश

विश्वको कुनै कुनामा दुइवटा मित्र देशहरु थिए ।

पहिलो देशका नागरीकहरु शिक्षीत हुन पाए रमाउँथे, दोस्रो देशका जनताहरु आफूलाई सचेत भन्न रुचाउँथे ।

पहिलो देशका नेताहरु रात दिन नभनी जनताको काम गरी सिध्याउँथे, दोस्रो देशका नेताहरु जनतालाई नै प्रयोग गरी कुर्शी हत्याउँथे।

पहिलो देशका मजदूरुहरुले कारखाना चलाउँथे, अर्को देशका मजदूरहरुलाई नेताले नचाँउथे।

यौटा देशका पत्रकारहरु देशमा घटेका घटनाहरुको खबर सुनाउँथे, दोस्रो देशमा समाचार माध्यम आफ्नो बिचारलाई नै समाचार बनाउँथे ।

यौटा देशमा नेता हुनलाई पढनु पर्थ्यो, अर्को देशमा पढन नसक्नेहरु राजनीतिमा आउँथे ।

पहिलो देशमा बुद्घी र बिचारको युद्घ हुन्थ्यो, अर्कोमा ढुङ्गा मुढाले नै र्सब कार्य सिद्घ हुन्थ्यो ।

यौटा देशका नेता देशकोलागी मरी मेट्थे, अर्को देशका नेता हरेक पाइला चाल्नु अघि बिदेशी भेट्थे ।

पहिलो देश 'शान्ति, बिकास स्वाबलम्बन' भन्दै छ, दोस्रो देशको बारेमा के भन्ने, त्यो देश करीब करीब नेपाल जस्तै बन्दै छ ।

02 December 2007

पेशागत प्रतिभा

\DOCUME~1\DILIPA~1\MYDOCU~1\2005-09-05 05;31;46PM.PDF नीहरु दुईजना अक्सर एकै ठाउँमा देखिन्थे। पहिलो व्यक्ति बोल्नेहरुको आसनमा हुन्थ्यो भने दोस्रो व्यक्तिहरु सुन्नेहरुको लहरमा ।
 
पहिलो चोटि उनीहरु दुईजनाको भेट यौटा औद्योगिक मेलामा भएको थियो । त्यस दिन बोल्ने व्यक्तिले उद्योगधन्दाको बारेमा यत्ती गहिरो विवेचना गरेको थियो कि, सुन्ने व्यक्ति उसको उद्योग र प्राविधिक ज्ञानबाट एकदम प्रभावित भएको थियो।
 
त्यसपछि अर्को दिन यौटा धार्मीक समारोहमा बोल्ने व्यक्तिले गिताको  खुब जोडदार व्याख्या गर्‍यो। सुन्ने व्यक्ति उस्को धार्मिक आस्था र नैतीक मान्यता देखेर ओतप्रोत भयो।

त्यसको केहि समयपछि बोल्ने व्यक्ति यौटा साहित्यिक जमघटमा देखीयो । त्यहाँ बोल्ने व्यक्तिले साहित्यको उत्थानको बारेमा साहित्यकारले भन्दा पनि ओजपूर्ण र सारगर्भित भाषण दियो । सुन्ने व्यक्ति उसको साहित्य प्रतिको सदभाव र मिठासपूर्ण वचनले गद्‍गद् भयो ।

त्यसपछि पनि कहिले व्यापारिक मेलामा कहिले वैज्ञानिक भेलामा, कहिले विद्वानहरुको छलफलमा कहिले कलाकारहरुको दलबलमा उनिहरुको भेट भइनै रह्यो ।

प्रत्येक पटकको भेटेपछि सुन्ने व्यक्ति बोल्ने व्यक्तिबाट झन् झन् प्रभावित हुदैँ गयो । सुन्ने व्यक्ति आश्‍चर्य चकित थियो र उसले यो पनि निर्क्योल गर्न सकेको थिएन कि वास्तबमा त्यो बोल्ने व्यक्ति प्राविधिक थियो वा प्रशासक, साहित्यकार थियो वा वैज्ञानिक किनकि त्यो बोल्ने व्यक्ति जुनसुकै ठाउँमा पनि पुग्थ्यो र जुनसुकै विषयमा पनि बोल्न सक्थ्यो ।

अन्तमा सुन्ने व्यक्ति बोल्ने वयक्तिबाट यति प्रभावित भयो कि उसले बोल्ने व्यक्तिको बहुमुखी प्रतिभाको बारेमा अनुशन्धान गर्न थाल्यो । तर जति जति खोजीनीति चल्यो उति उति सुन्ने व्यक्ति भने छक्क पर्दै गयो, किनकि न त त्यो बोल्ने व्यक्ति उद्योगधन्दाको बारेमा नै विज्ञ थियो, न त आध्यात्मिक चिन्तक । न त उसले वाणिज्यशास्त्र पढेको थियो न त साहित्य वा धर्ममा नै उसको झुकाव थियो । बिस्तारे खोजि पस्दा सुन्ने व्यक्तिले थाहा पायो कि त्यो बोल्ने व्यक्तिले औपचारिक शिक्षा समेत पुरा गरेको रहेनछ ।

आजकल सुन्ने व्यक्ति बोल्ने व्यक्तिको बोलिबाट प्रभावित हुन छाडेको छ, तर पेशा र बाध्यताका कारण बोल्ने र सुन्ने कार्य भने पूर्ववत् नै चलिरहेको छ ।

कसैलाई भन्नु नपर्ला तर कुरा के हो भने उनिहरुमध्ये बोल्ने व्यक्ति एकजना नेता वा मन्त्री भएकोले उसले जुनसुकै विषयमा पनि बोल्ने गर्थ्यो र सुन्ने व्यक्ति चाही एकजना पत्रकार भएकोले जे बोलिए पनि उसले सुन्नै पर्थ्यो ।

(गोरखापत्र १५-०२-२०५६)