स्वागतम्। तपाइ घुम्दै फिर्दै यहाँ आईपुग्नु भएको हो भने मेरो मुख्य ब्लग अब यहाँ छ ।

26 September 2009

विशेषता (लघुकथा)

vishes Aaina(यो लघुकथा यही ब्लगमा पनि धेरै अघी अंग्रेजीमा लेखेर हालेको थिएँ, तर धेरै दिन ब्लग अपडेट गर्ने मेसो नमिलेकोले हाललाई फेरि नेपाली भाषामा लेखेर टाँस्दैछु)

देशका एकजना प्रतिष्ठित वैज्ञानिकले एउटा बिशेष प्रकारको ऐनाको आविष्कार गरेको समाचारलले सवैतीर चर्चा पायो । सो ऐना, झ्वाट्ट साधारण ऐना जस्तै देखिए पनि मानिसरुले त्यसमा हेर्दा अनुहारको प्रतिबिम्बको साटो अरुनै भिन्न भिन्न कुराहरु देख्दथे।

यसरी अनुहार नदेखिने विशेष ऐनाको खास विशेषता भने पछि मात्रै खुलाउने वताएर ती वैज्ञानिकले आफ्नो आविष्कारको सार्वजनिक प्रदर्शनको आयोजन गरे ।

धेरै दर्शकहरुले प्रदर्शनीमा गएर त्यो विशेष ऐना हेरे, तर ऐनामा आ-आफ्नो अनुहारको साटो सवैले भिन्न भिन्न रंगको संयोजन र प्रकाश पुञ्ज अनी अकल्पनीय विम्बहरु मात्रै देखे ।

प्रदर्शनीको अन्तिम दिनमा एकजना चर्चित नेता ऐना अगाडि आएर उभिए, उनले त्यसमा यौटा कालो कालो धमिलो र अस्पष्ट चित्र देखे र भनेः "मलाई त यो आकृति मन परेन यो त राम्रो छैन ।"

एकजना सानो बालक पनि त्यहा आईपुगेको थियो । ऐनाको अगाडि पुग्ने बित्तिकै उ खुसीले उफ्रीयो। आफूले त्यसमा चमकिलो सफा र सेतो प्रकाशपुञ्ज देखेको बताउँदै उसले भन्यो "यो ऐना त साह्रै राम्रो रहेछ"।

अर्का एकजना बाटोमा हिडदै गरेको सन्तलाई पनि वैज्ञानिकले आग्रह पूर्वक ऐना अगाडि उभ्याए । उनले एकैछिन त्यहाँ दृष्टिगोचर गरे र सामान्य रुपमा आफूले त्यसमा केहि पनि नदेखेको वताए "यो त पानी जस्तो रगंहिन र हावा जस्तो निर्विकार छ "।

एउटै कुराको बारेमा तीन थरी अती विपरीत र पूर्ण भिन्न बक्तव्य आएपछि उपस्थित पत्रकारहरुले वैज्ञानिकलाई सो ऐनाको विशेषता बताइदिन भने । वैज्ञानिक एकैछिन मौन रहे, अनी लामो सास फेरेर बोल्न शुरु गरे: "… यो पनि अरु ऐना जस्तै प्रतिबिम्ब बनाउने ऐना नै हो, …तर फरक यत्ती छ की यसले शारीरीक बिम्ब हैन, मानसिक सोच, चित्त दशा र चरित्रलाई प्रतिबिम्बित गर्छ"

01 September 2009

पर्खाल (लघुकथा)

पर्खाल केही समयअघि उसको घरसंगैको एकजना छिमेकीले घर अगाडिको बाटो र घरको बीचमा रहेको केही जग्गा मिचेर पर्खाल लगाएको थियो । यसरी सार्वजनिक जग्गा मिचेर छिमेकीले आफ्नो कम्पाउण्ड बढाएको कुरा उसलाई चित्त बुझेन । उसले विरोध गर्नु पर्ने ठाउँमा गएर विरोध गर्‍यो, उजूर हाल्नु पर्ने ठाउँमा गएर उजूर हाल्यो । तर उजूर कमजोर भएर हो वा छिमेकी बलियो भएर हो कुन्नि, न त कसैले अनुसन्धान नै गर्‍यो, न त छिमेकी नै कारवाहीमा पर्‍यो । लगाएको पर्खाल लगाएकै भयो ।
त्यसको केही समयपछि उसको अर्को छिमेकीले पनि विस्तारै आफ्‍नो पर्खाल मर्मत गर्ने बहानामा पुरानो पर्खाल भत्काई दुई-तीन फिट बाटो च्यापी नयाँ पर्खाल लगायो । उसले पुन: निवेदन दिनुपर्ने ठाउँमा गएर निवेदन दियो, नालिस हाल्नु पर्ने ठाउँमा गएर नालिस पनि हाल्यो । तर नालिस लेखेको नमिलेर हो वा सम्बन्धित हाकिम छिमेकीसंग मिलेर हो, न त कसैले छिमेकीलाई हप्कायो, न त कसैले पर्खालै भत्कायो । ठड्याएको फर्खाल ठाडै रह्यो ।
अघिल्ला दुई जनाबाट प्रेरणा पाएर गएको हप्ता, उसको तेस्रो छिमेकीले आफ्नो चार आनाको जग्गालाई बाटोतर्फ ‘घचेटेर’ ६ छ आनाको बनायो । यसरी सवैजनाले सार्वजनिक जग्गा मिच्दै व्यक्तिगत बनाउँदै गरेको उसलाई पटक्कै मन परेको थिएन । तर किन हो कुनि यसपाला भने उसले मुद्दा हालेर शत्रु कमाउने काम पनि गरेन, निरर्थक विवाद गरेर मूर्ख बन्ने बाटो पनि रोजेन ।
ऊ यसरी चुपचाप शान्त बसेको देखेर छर-छिमेकमा सबै छक्क परेका थिए । वास्तवमा अर्काले हाकाहाकी सार्वजनिक जग्गा मिच्दा पनि ऊ यसरी शान्त बस्नु एउटा आश्‍चर्यकै कुरा थियो । तर आश्‍चर्य भन्दा महा आश्‍चर्य घटेपछि मात्र सबैले उसको परिवर्तित शान्त स्वभावको रहस्य बुझे । कुरा के भने, आज बिहानदेखि ऊ पनि विस्तारै आफ्नो घर कम्पाउण्डको पुरानो पर्खाल भत्काएर चार फिट अगाडि नयाँ पर्खालको जग खन्दै थियो ।