स्वागतम्। तपाइ घुम्दै फिर्दै यहाँ आईपुग्नु भएको हो भने मेरो मुख्य ब्लग अब यहाँ छ ।

29 May 2009

सफल लेखक (लघुकथा)

Lekhak 1

उसलाई सानै देखि साहित्यमा एकदमै रुचि थीयो। उमेर र अनुभवहरु बढ्ने क्रममा उसको पढ्ने रुचि बिस्तारै लेख्‍नेतर्फ पनि मोडियो ।

आफ्नो देश, भाषा र संस्कृति प्रति अगाध प्रेम र लगाव भएकोले उसको रचनाहरुमा पनि देश-प्रेम, सौन्दर्यचेत र सामाजिक भावहरु प्रष्ट भेटिन्थे । उ यस्तै सामजिक भावना र देशप्रेमको वारेमा कथा, कविताहरु लेख्थ्यो: “हिमाली छाया”, “नेपाली माया” “सुनौलो बिहानी” आदि आदि । तर सम्पादकहरु उसका रचना पढ्न अल्छी मान्थे, पत्रिकाहरुमा उसको कविताले ठाउँ पाउँदैनथे र उसका रचनाहरु आफ्नै डायरीमा मात्रै सीमित थिए ।

बिस्तारै उसले बजारमा चल्ने साहित्यमा कलम चलाउन थाल्यो र अधुरो बिषय, असम्भव शीर्षक र बेमेल कथनहरुलाई आफ्नो रचनामा उतार्न थाल्यो : “हिंसक बुद्ध”, “खुकुरी काट्ने अचानो”, “लंगडाको जुत्ता” आदि आदि। अब बिस्तारै प्रकाशन गृहहरुमा उ चिनिन थाल्यो, पत्र-पत्रिकामा फाट्ट-फुट्ट उसका रचनाहरु छापीन थाले र उ ‘राम्रो लेख्‍ने’मा गनिन थाल्यो ।

हिजोआज, उसको कविता भन्दा कविताको शीर्षक लामा हुन्छन। उसको कथाको पहिलो अनुच्छेद र दोश्रो अनुच्छेदमा कुनै तारतम्य भेटिन्नन। उ निबन्ध जस्तो कविता, कथा जस्तो गीत र सम्बाद जस्तो समिक्षा लेख्छ ।

आजकल उ अमूर्त सर्जक दर्शन-लेखकको नामले चिनिन्छ र सामान्य मानिसको दिमागबाट छिर्न हम्मे हुने शीर्षकमा रचनाहरु लेख्छ: “चीसो आगो”, “लाटोकसेरोको सपना”, “भिसेनको पाखुरा र जंगली च्याँखुरा” आदि आदि। उसका रचनाहरु सम्पादकहरु मागी मागी छाप्छन, प्रबुद्धवर्गहरु खोजी खोजी पढ्छन र उसले कैयौं प्रशंसापत्र र पुरस्कारहरु पनि पाई सकेको छ ।