स्वागतम्। तपाइ घुम्दै फिर्दै यहाँ आईपुग्नु भएको हो भने मेरो मुख्य ब्लग अब यहाँ छ ।

05 April 2009

विडम्बना

bidambana


उसले निकै मेहनत गरेर मात्रै आफ्नो पढाइ पूरा गरेको थियो । घर-गाउँ छाडी काठमाण्डौमा बसी पढ्दा आर्थिक समस्याले पनि उसलाई सधैं सताउँथ्यो, जे होस् निकै संघर्षपूर्ण तरिकाले उलसे कानुनमा स्नातक गर्‍यो ।


पढाइ सक्काउन त गाह्रो छँदैथियो, काम पाउन उसले झनै मुश्किल महसुस गर्‍यो । महिनौंको शीष्टाचार र अनेकौं पत्राचारले पनि काम नपाएपछि उसले आफ्ना अरु दुईजना साथीसंग मिलेर ‘ल फर्म’ खोल्ने निधो गर्‍यो ।


जसो-तसो २-३ महिनाको बहाल जम्मा गरी उसले पाएक पर्ने ठाउँमा यौटा अफिस खोल्यो । अनी कार्यालयको बाहिर यौटा बोर्ड झुण्यायो: “यहाँ कानुनी सल्लाह दिईन्छ”, कार्यालय भर्खरै खोलेको र कोठामा भएको फोनको पनि अधिकतम उपयोगिता लिन साईनबोर्ड मुनि सानो अक्षरमा थपियो “साथै टेलीफोन सेवा पनि उपलब्ध छ”


दिन बित्दै जाँदा, कानुनि सल्लाह लिन आउनेको भन्दा फोन गर्न आउनेको संख्या बढ्दै जान थाल्यो । शुरु शुरुमा भाडा उठाउन पनि मुश्किल हुनेमा बिस्तारै बहाल तिरी केहि मुनाफा समेत हुन थाल्यो ।


केही समयपछि एकदिन उनिहरुको बीचमा गम्भीर छलफल भयो। त्यसको भोलिपल्ट उनीहरुको साईनबोर्ड परवर्तन गरिएको थियो:- “यहाँ एस. टी. डी. र आई. एस. डी. सेबा उपलब्ध छ” अनी साईनबोर्डको अलि तलपट्टि सानो अक्षरमा लेखिएको थियो ‘साथै यहाँ कानुनी सल्लाह पनि दिईन्छ।’


(गोरखापत्र २५-०२-२०५८)