स्वागतम्। तपाइ घुम्दै फिर्दै यहाँ आईपुग्नु भएको हो भने मेरो मुख्य ब्लग अब यहाँ छ ।

05 March 2009

‘साईड ईफेक्ट’

यौटा गैह्र सरकारी संस्थानको आयोजन, स्वदेशी बिद्धानहरुको संयोजन र बिदेशी दाताको प्रायोजनमा त्यो गाँउमा बालश्रमको बिषय लाई लिएर यौटा बिचार गोष्ठि भयो ।

बालहितको नारा, अविभावकले लिनु पर्ने अविभारा र अन्तराष्ट्रिय बिचारधारालाई दृष्टिगत गर्दा बालबालीकालाई श्रममा लगाउन नमिल्ने देखिएकोले गोष्ठिको अन्तिम दिन अब उप्रान्त त्यस गाँउमा बालबालीकाहरुलाई कुनैपनि किसीमको श्रममा नलगाउने र लाग्न नदिने निर्णय भयो ।

खर्च जुर्टाईदिने दाता, समाज सुधारक भनेर चिनीएका नेता र आयोजक कार्यकर्ताले करतल ध्वनीका साथ सो निर्णयको स्वागत गरे ।

भारी बोकेर गुजारा गर्ने हर्के, गिट्टी कुटेर जिबन धान्ने बिर्खे र उन कातेर हातमुख जोर्ने जितेका परिबार यो निर्णय सुनेर अकमक्क परे ।

उक्त कार्यको 'सफलता' पछि शहर फर्केका संयोजकहरु प्रायोजकको गुण गाउन थाले, प्रायोजकहरुले समाजसेवीको दर्जा पाउन थाले भने आयोजकहरु त्यो भन्न्दा पनि शसक्त अर्को योजना बनाउन थाले ।

उता गाँउमा, दिनभरि गिट्टी कुटेर रातीको पाठशालामा पढने बिर्खेको छोरा बालश्रम उन्मुलन भई काम खोसीएकोले पैसा तिर्न नसक्दा कक्षाबाट निकालीयो । गलैंचाको धागो कातेर बाबुआमा पाल्ने जितेकी छोरी बेकम्मा भई बरालीएर हिडन थाली भने बिरामी आमाको उपचार खर्च जुटाउन अरु कुनै श्रोत नभए पछि हर्केको छोराले पाकेट मार्ने पेशा अपनाउन थाल्यो ।

यता आयोजकहरुले दातालाई दिएको प्रतिबेदनले गाँउमा बालश्रमको अन्त्य भएको देखाँउदै थियो । उता गाँउमा रोजगार खोसीएकोले बाल अपराध मौलांउदै थियो ।