स्वागतम्। तपाइ घुम्दै फिर्दै यहाँ आईपुग्नु भएको हो भने मेरो मुख्य ब्लग अब यहाँ छ ।

19 June 2008

सम्मोहन


हिलो पटक चुनावमा उसले जोडदार भाषण दियो " मैले जितेँ भने बाटो बनाईदिन्छु, ढल खनाईदिन्छु… … । काम नहुनेहरुलाई जागिर हालिदिन्छु, बिजुली नपुगेको ठाँउमा बत्ती बालिदिन्छु‍‍… …" । उसले जनतालाई लोभ्यायो, सबैले उसलाई भोट हाले। उसले चुनाव जित्यो तर केहि काम भएन ।


दोस्रो पटक चुनावमा उसले वक्तव्य फेर्‍यो " …अघिल्लो पटक योजना बनाउँदा र आर्थीक स्रोत जुटाउँदैमा समय बित्यो,… … काम गर्नै भ्याईएन… तर यसपालि जरुर केहि गरेर देखाउनेछु । यौटा मौका फेरि दिनुहोस… …" उसले मतदातालाई फकायो, सबैले उसलाई भोट हाले । उसले फेरी चुनाव जित्यो र फेरी केहि पनि काम गरेन ।


तेस्रो पटक चुनवमा आदर्श छाँट्यो " यहाँ काम गर्छु भन्नेलाई काम गर्ने वातावरण नै छैन, विपक्षीको चाल र पार्टी भित्रको अन्तर्द्वन्द मिलाउदैमा समय बित्छ के गर्ने ? … …अब स्थीती अलि ठिक भएको छ । अब त काम गरेरै छाडछु, केवल एक मौका दिनुहोस… …" उसले भिडलाई झुक्यायो, सबैले उसलाई भोट हाले । उसले पूर्ववत् चुनाव जित्यो अनि पूर्ववत् नै केहि काम पनि गरेन ।


यसपालि चुनावमा उसले के बारेमा भाषण गर्‍यो कसैले बुझेनन्, के कस्तो आश्‍वासन दियो कसैले सुनेनन्, तर पटक पटक उसलाई भोट दिँदादिँदा बानी परिसकेका मतदाताहरु यसपालि पनि धमाधम उसैको चुनाव चिन्हमा छाप लगाउँदै थीए ।


(४-१-२०५६,गोरखापत्र)



13 June 2008

उपचार खर्च

(आफ्नो सबै रचनाहरु एकै ठाँउमा राख्‍ने क्रममा, धेरै पहिला गोरखापत्रमा प्रकाशित यो लघुकथा टाँस्दैछु आज)

उपचार खर्च

(लघुकथा)

कारखानाको ईमान्दार कर्मचारी थियो । एकदिन कारखानालाई आगलागीबाट जोगाउने क्रममा उ नराम्रोसंग घाईते भयो । तल्लो तहको कर्मचारी भएको र उपचारार्थ विदेश पनि जानु पर्ने देखीएकोले उसले आफ्नो शाखा प्रमुख समक्ष उपचार खर्चको लागि निवेदन गर्‍यो । घटनाको प्रकृतिको गहन अध्ययन पश्‍चात् शिफ्ट ईन्चार्जबाट कार्यालय प्रमुखलाई खबर गरियो ।

संवेदनशील विषय भएकोले शाखाबाट सिफारिश सहितको टिप्पणी उठाइयो । उपचार खर्च बढी देखीएकोले हाकिम एक्लैले निर्णय गर्न आँट गरेनन् र उक्त विषयलाई बोर्ड बैठकबाट पारित गर्ने आश्‍वासन दिईयो ।

जरुरी कामको सिलसिलामा विदेश गएका बोर्ड अध्यक्षले फर्कनासाथ बैठक बोलाए। हचुवाको भरमा त्यत्रो रकम खर्च गर्दा आर्थीक अनियमितता बढ्न सक्ने संम्भाबना देखिएकोले अध्यक्षले घटनाको विस्तृत अनुसन्धान गरि प्रतिवेदन पेश गर्न यौटा समिति गठन गरे ।

समितिले तदारुकताका साथ दुई हप्ताभित्रमा आफ्नो निर्णय पीडित कर्मचारीको पक्षमा भएको प्रतिवेदन पेश गर्‍यो ।

यसरी दूर्घटना घटेको करिब दुई महिनापछि उसको उपचार खर्च सरकारले व्यहोर्ने निर्णय भयो, तर अत्यधिक पीडा र आर्थिक विपन्नताका कारण उपचार हुन नसकी एक हप्ता अगाडि नै उसको मृत्यु भैसकेको थियो ।