स्वागतम्। तपाइ घुम्दै फिर्दै यहाँ आईपुग्नु भएको हो भने मेरो मुख्य ब्लग अब यहाँ छ ।

19 December 2008

अव्यक्त भावना (कथा)

प्रिय राजिव,

दैनिक संझना !

आज बिहानै देखी बादल लागी रहेछ, शायद मन बोझीलो भएकोले होला झ्याल बाहिरबाट आएको चराको चीरबिरले पनि मेरो मानशिक शान्तिलाई बीथोली रहेको छ । यस्तो बेलामा केवल तिमीलाई पत्र लेखेर मात्रै मैले मेरो मनको बोझ हल्का गर्न सक्छु , किनकी मेरो जिन्दगीमा घटने हरेक घटनासंग तिमी प्रतक्ष र परोक्ष दुबै रुपले सम्बद्ध छौ, जुन कुरा म प्रष्टै भन्दैछु भने तिमी भने अझै आफ्नै अर्न्तर्द्वन्दमा हराएका छौ । त्यसैले सवै कुरा खुलस्त हुदां हुदैं पनि मैले बिगतका घटनाक्रमहरुलाई एकचोटी पूनः जिवित गर्नुनै म र तिमी दुबैकोलागी राम्रो होला ।

तिमीलाई थाहा छदैंछ, हाम्रो पहिलो भेट आफ्नै कलेजमा भएको थियो । शुरुका दिनहरुमा मेरो अवेर गरेर कलेज जाने बानी थियो भने तिमी चाहीं कक्षा शुरु हुनु भन्दा धेरै अगाडी नै कक्षामा उपस्थित भै सकेका हुन्थ्यौ ।  साँच्चै भन्दा, शुरुका दिनहरुमा म पढन भन्दा पनि रमाईलोको लागी कलेजमा जाने गर्दथें । तिमीलाई त यादै होला त्यतिबेला हल्ला गर्ने र अरुलाई जिस्काउने काममा नै मेरा दिनहरु बित्ने गर्थे ।

यसै क्रममा ति दिनहरुमा मैले तिमीलाई पनि धेरै चोटी गिज्याउने र होच्याउने काम गरें । त्यसो त शुरुका दिनहरुमा मैले मात्रै नभै कक्षाका सवैजनाले तिमीलाई अनौठो दृष्टीले हेर्ने गर्थे, कारण तिमी न त कसैसंग हिडथ्यौ न कसैसंग कुरा नै गर्थ्यौ । कक्षा कोठामा पनि कालो चश्मा लगाएर बस्ने तिम्रो बानी देखेर मैलेनै तिमीलाई 'पाखे' को उपनाम पनि दीएकी थिए । तर तिमीलाई त्यसरी जिस्क्याउदां मलाई जत्ति आनन्द आउँथ्यो त्यो भन्दा कैयौं गुणा बढि पीडाको बोध मलाई त्यस दिन भयो जुन दिन मैले त्यो कालो चश्माको रहश्य थाहा पाएकी थिए ।

त्यस दिन अंग्रेजीको कक्षा संचालन भैरहेको थियो, अचानक शिक्षकले तिमीलाई त्यस दिन पर्ढाईने कविता एकचोटी पाठ गर्न भन्नु भयो, तर तिमी भने मूर्तीबतः चुप बसि रह्यौ । शिक्षकले तिमीलाई पूनः आग्रह गर्नु भयो, यता तिम्रो अनुहारमा भने एकदमै अनौठा भावहरु आए, तिम्रो अनुहार एकदमै असामान्य देखियो, तिम्रो अनुहारको रंग यसरी असामान्य रुपले परिवर्तन हुदैं थियो जसले तिमी माथी गहीरो मानशिक दवाब परेको प्रष्टै देखाउँथ्यो । तिम्रो ओठहरु थर्थराए अनुहारमा पसीनाका केहि बुंदहरु देखा परे र अन्तमा तिमीले त्यो कुरा बतायौ, जुन कुरा सुन्दा कक्षाका सवै स्तव्ध भएका थिए। कक्षामा उपस्थित सवैको नजर एकैचोटी तिमीमा गयो। साच्चै ! तिमी आँखा देख्दैनौ थियौ !! । उफ ! कत्रो बिडम्बना !! कत्रो अभिशाप !! । शिक्षकले तिम्रो वास्तविकता थाहा पाउनु भएपछि माफी मागेर तिमीलाइ बस्न आग्रह गर्नु भयो तर म भने भित्र भित्र जलीरहें ।

ओहो ! म बाट कत्रो गल्ती भएछ, एकजना सोझो व्यक्तिको शारीरीक कमजोरीलाई नबुझेर मैले कत्रो नराम्रो व्यंङ्य गरीछु । मलाई आफैदेखी घृणा लाग्यो र आफ्नै आखाँबाट गिर्न थाले म ।

तिमी सधैं सबैभन्दा पहिला कक्षामा आउँथ्यौ भने कक्षा पछि पनि सबैभन्दा ढिला र्फकन्थ्यौ । त्यसैले एकदिन कक्षा समाप्त भएपछि मैले कक्षामा कोहि पनि नभएको मौका पारेर तिमी संग माफी मागेकी थिएँ । तिमीलाई अझै याद याद छ, त्यतिबेला तिमीले कत्ति सरल किसीमले मलाई भनेका थियौं: “ख्याल ठट्टा भनेको साथी साथी बिचमा नै त हुन्छ नी, यसमा माफी माग्नु पर्ने कुरा नै के छ र”। त्यतिबेला तिम्रो त्यो जवाफलाई मैले माफी दिएकै अर्थमा लिएकी थिए भने तिम्रो त्यो शहनशिलता र सरल व्यबहारले मलाई झन तिमी प्रति आदर जगाइ दिएको थियो ।

तिमीलाई शायद थाहा छैन होला त्यति बेला देखीनै मेरो तिमी प्रतिको झुकाव बढदै गयो । विस्तारै तिम्रो सरल स्वभाव र मिठो बोली तर्फ मेरो आकर्षण बढन थाल्यो । किन हो कुन्नी मलाई सधैं तिमीसंग मात्रै कुरा गरीरहन मन लाग्थ्यो, म खाली तिमीसंग मात्र बस्न चाहन्थें, तिमीलाई भेटन चाहन्थें, तिमीलाई हेर्न चाहन्थें। म आफैले यो झुकावको कारण बुझन सकेकी थिईन । विस्तारै मेरा सहेलीहरुले मलाई तिम्रो नाम लिएर जिस्क्याउन थालेपछि मात्रै मैले अनुभव गरें, मेरो तिमी प्रतिको आदरभाव र मित्रता निक्कै पहिले नै प्रेममा परिणत भैसकेको रहेछ ।

साच्चै मैले भित्र भित्रै तिमीलाई प्रेम गर्न थाली सकेको थिएं । त्यो प्रेम नभएर के थियो त; म हरपल तिम्रो साथ रहन चाहन्थें, तिम्रो सुख दुःखमा मैले प्रतक्ष रुपमा आफूलाई सहभागी भएको पाउँथें, मानौ तिमीलाई र मलाई हरेक कुराले एकै किसीमको प्रभाव पार्थ्यो र हरेक नयाँ घटनाले हामी दुबैलाई एकै किसीमको अनुभूति दिन्थ्यो ।

पहिलो प्रेममा प्रेम शुरु भएको धेरै पछि मात्रै प्रेम गर्नेलाई त्यसको जानकारी हुन्छ भन्ने यथार्थको जानकारी पनि मलाई त्यहि बेलामा अनुभूति भएको थियो ।

हुन त म त्यति बेला निकै खुला बिचारकी थिएं, तर तिमीसंग भेट हुने बित्तीकै म त्यसै-त्यसै कमजोर हुन्थें । आफनो मनको भावना तिमीलाई व्यक्त गर्न मलाई निकै गाह्रो भएको थियो र त्यसको लागी मलाई समय पनि निकै चाहिएको थियो ।

त्यसो त मैलै तिमीलाई साच्चैं प्रेम गर्न थालेको थाहा पाएर मेरा धेरै जना साथीहरुले मलाई रोक्न पनि नखोजेका होईनन । फेरी कलेजका केही पुरुष सहपाठिहरु पनि म प्रति आर्कषित भएको र उनिहरुले पनि मलाई एकतफिर् प्रेम गर्ने गरेको कुरा पनि मैले नबुझेकी थिइन तर म भने आफनै बिचारमा अडिग थिएं । आफ्नो बिचारलाई अभिव्यक्त गर्न मलाई केहि समय लागे पनि अन्तमा एकदिन मैले तिमीलाई आफ्नो चाहना बताएरै छाडें ।

तिमीलाई शायद थाहा छैन होला हाम्रै कक्षाको सहपाठी रमेश पनि मलाई एकतर्फी प्रेम गर्थ्यो । उसले धेरै चोटी घुमाई फीर्राई मलाई त्यो कुरा बताउन खोजेको थियो , तर म पनि सधैं उसको कुरा नबुझेझै गरी त्यसै टारीदिन्थे । तर एकदिन जब उसलाई थाहा भयो की म तिमीलाई प्रेम गर्छ, तब उसले मलाई सीधै सो कुरा बतायो । त्यसपछि मैले पनि उसलाई आफूले तिमीलाई प्रेम गर्ने बताएं । त्यतीबेला उसले मलाई भनेको थियो "यौटा अन्धोसंग प्रेम गरेर तिमीले के पाउँछौं?" । तर उसलाई के थाहा की, शारीरीक शुन्दरता र धनको अगाडी उ स्वयं अन्धो थियो । शिक्षाको ज्योति आखाँको ज्योति भन्दा महत्वपूर्ण हुन्छ र ज्ञानको प्रकाश सुर्यको प्रकाश भन्दा वृहत हुन्छ भन्ने कुरा उसले त्यतिबेला बुझेको थिएन, त्यसैले आफ्नो अज्ञानताको अन्धोपनको कारण उ तिमीलाई अन्धो भन्थ्यो। जुन कुराले मलाई निकै चोट पुगेको थियो । तर त्यो भन्दा पनि गहिरो चोट मलाई त्यतिबेला पुग्यो जब तिमीले एकदमै अस्पष्ट र जटिल वाक्यको सहाराले मेरो प्रेमलाई अस्विकार गरीदिएका थियौ ।

वास्तवमा तिमी पनि केहि हदसम्म रमेशकै जस्तै सोचाई राख्दै थियौ , तर साचों अर्थमा हेर्ने हो भने तिम्रो सोचाई बिल्कुल गलत छ । किनकी पहिलो कुरा त प्रेम भनेको व्यापार होईन जुन केहि पाउनको लागी गरीयोस, अर्को कुरा मेरो तिमी प्रतिको भावनालाई तिमीले “दया” को संज्ञा दियौ, तर मलाई लाग्छ तिमीले पनि राम्ररी बुझेका छौ यो दया होईन माया हो ।

मैले तिमीलाई निकै नजिकबाट चिनेकी छु र तिम्रो भावनाहरुलाई पनि बुझेकी छु । त्यसैले तिमीले मलाई भनेका वाक्यहरुलाई मैले आफ्नो तर्फबाट मात्र नहेरी तिम्रो तर्फबाट पनि विश्लेषण गरेकी छु । मलाई लाग्छ तिमीले पनि मेरा भावनालाई आफ्नो तर्फबाट मात्र नहेरी मेरो पक्षबाट पनि बिचार गरीदीयौ भने हामी दुइ बिच कुनै पनि मतभेद र कुनै दुरी रहने छैन ।

यथार्थमा भन्दा , तिमीले आफुलाई जुन रुपमा हेरेका छौ मैले पनि तिमीलाई त्यही रुपमा चाहेकी छु अब मैले आफूलाई जस्तो सोचेकी छु तिमीले पनि मलाई त्यस्तै संझी दियौ भने तिम्रो र मेरो बिचमा कुनै अबरोध रहने छैन ।

हामी बिच न पहिले कुनै अबरोध थियो, न अहिलेनै कुनै मनमुटाव । मलाई लाग्छ हामी बिच केबल केहि अव्यक्त भावनाहरु मात्र थिए, जुन अब पूर्ण रुपमा प्रष्ट भैसकेको छ । त्यसैले मलाई लाग्छ तिम्रो र मेरो बिच न त कुनै बैचारीक मतभेद छ न त कुनै भावनात्मक असामान्यता । जब तिम्रो र मेरो बिचमा यति धेरै समानता छन र हाम्रो लक्ष पनि एउटै छ भने हामी किन संगै नहिडने ?।

मलाई विश्वाश छ तिमी आफ्नो सानो शरीरीक असक्षमतालाई ठूलो मानशीक कमजोरी बनाएर मेरो र आफ्नो दुबैको जिबनलाई एउटै धारामा बग्नबाट रोक्ने काम गर्दैनौं र मेरो यथार्थ बुझेपछि आफ्ना भावनाहरुलाई पनि सहज ढंगमा व्यक्त गर्ने छौ ।

बिहान लागेको बादल विस्तारै हटिसक्यो र आकाश सफा भएर खुलेको छ। रंगी विरंगी फूलको बिचमा बसेर चराहरु वसन्को गीत गाउँदै छन, मलाइ लाग्छ यो पक्कै पनि शुभ समयको शुचक हो ।

ब्रेल लीपी भर्खरै सिक्दैछु त्यसैले केहि गल्ती अवश्यनै भए होलान आशा छ अवश्य नै माफ गर्ने छौ ।

पत्रको आशमा,

संगीता, काठमाण्डौ !!

09 December 2008

अघटित यथार्थ

Aghatit Yathartha यौटा लामो दूरीमा चल्ने बस सडकबाट निकै तल खोलामा खसेर दूर्घटनाग्रस्त भयो । बसका सबै यात्रीहरुको मृत्यु भएको खबर फैलियो । टिकट काट्नेहरुको नाम जाँचेर हेर्दा देशका एकजना लगनशील लेखक पनि त्यो दूर्घटनामा परेको खबर खुल्यो ।

तुरुन्तै सबैतिर सोकसभाहरु आयोजना भए । पत्र-पत्रिकामा उनका बारेमा प्रशंसाले भरिएका लेखहरु छापिए । उनले गर्दै रहेको साहित्य सेवाको सबैतिरबाट प्रशंसा गरियो र साहित्यको क्षेत्रमा अपूरणीय क्षति भएको घोषणा गरियो ।

यौटा सामाजिक संस्थाले स्वर्गीय लेखकको सम्मानको लागी उनको यौटा सालिक बनाउने कुरा उठायो । अर्को यौटा निर्णायक मण्डलले उनलाई मृत्युपर्यन्त विशेष पुरस्कार दिने निर्णय सुनायो । विभिन्न पत्र पत्रिकाहरुमा पहिले पन्छाईएका उनका लेख रचनाहरु नामको अगाडि 'स्व' लेखेर धमाधम छापिन थाले ।

त्यत्तीकैमा एकदिन मृत घोषित लेखक जिउँदै घर फर्के। दूर्घटनाग्रस्त बस हिड्ने समयमा 'बस स्टप' पुग्न नभ्याएकोले बस छुटी आफू बचेको कुरा उनले सार्बजनिक गराए ।

त्यसको तुरुन्तै शालिक बनाउन अग्रसर संस्थाले ‘जिउँदै व्यक्तिको शालिक बनाउन हुँदैन’ भनेर शालिक बनाउने योजना रद्द गर्‍यो । पुरस्कार दिन तम्सने निर्णायक मण्डलले पनि अर्कै स्वर्गीय

प्रतिभालाई पुरस्कार दियो । उनका लेख रचनाहरु पत्रिकामा छपाउन सम्पादकहरु पुन: अन्कनाउन थाले ।

यसरी मृत्युको खबरले प्रसिद्ध भएका लेखकको चर्चा बिस्तारै हराउँदै गयो र उनको जिउँदो अस्तित्व फेरी भिडमै बिलायो ।

(मधुपर्क – लघुकथा अंक २०५६)