स्वागतम्। तपाइ घुम्दै फिर्दै यहाँ आईपुग्नु भएको हो भने मेरो मुख्य ब्लग अब यहाँ छ ।

19 December 2008

अव्यक्त भावना (कथा)

प्रिय राजिव,

दैनिक संझना !

आज बिहानै देखी बादल लागी रहेछ, शायद मन बोझीलो भएकोले होला झ्याल बाहिरबाट आएको चराको चीरबिरले पनि मेरो मानशिक शान्तिलाई बीथोली रहेको छ । यस्तो बेलामा केवल तिमीलाई पत्र लेखेर मात्रै मैले मेरो मनको बोझ हल्का गर्न सक्छु , किनकी मेरो जिन्दगीमा घटने हरेक घटनासंग तिमी प्रतक्ष र परोक्ष दुबै रुपले सम्बद्ध छौ, जुन कुरा म प्रष्टै भन्दैछु भने तिमी भने अझै आफ्नै अर्न्तर्द्वन्दमा हराएका छौ । त्यसैले सवै कुरा खुलस्त हुदां हुदैं पनि मैले बिगतका घटनाक्रमहरुलाई एकचोटी पूनः जिवित गर्नुनै म र तिमी दुबैकोलागी राम्रो होला ।

तिमीलाई थाहा छदैंछ, हाम्रो पहिलो भेट आफ्नै कलेजमा भएको थियो । शुरुका दिनहरुमा मेरो अवेर गरेर कलेज जाने बानी थियो भने तिमी चाहीं कक्षा शुरु हुनु भन्दा धेरै अगाडी नै कक्षामा उपस्थित भै सकेका हुन्थ्यौ ।  साँच्चै भन्दा, शुरुका दिनहरुमा म पढन भन्दा पनि रमाईलोको लागी कलेजमा जाने गर्दथें । तिमीलाई त यादै होला त्यतिबेला हल्ला गर्ने र अरुलाई जिस्काउने काममा नै मेरा दिनहरु बित्ने गर्थे ।

यसै क्रममा ति दिनहरुमा मैले तिमीलाई पनि धेरै चोटी गिज्याउने र होच्याउने काम गरें । त्यसो त शुरुका दिनहरुमा मैले मात्रै नभै कक्षाका सवैजनाले तिमीलाई अनौठो दृष्टीले हेर्ने गर्थे, कारण तिमी न त कसैसंग हिडथ्यौ न कसैसंग कुरा नै गर्थ्यौ । कक्षा कोठामा पनि कालो चश्मा लगाएर बस्ने तिम्रो बानी देखेर मैलेनै तिमीलाई 'पाखे' को उपनाम पनि दीएकी थिए । तर तिमीलाई त्यसरी जिस्क्याउदां मलाई जत्ति आनन्द आउँथ्यो त्यो भन्दा कैयौं गुणा बढि पीडाको बोध मलाई त्यस दिन भयो जुन दिन मैले त्यो कालो चश्माको रहश्य थाहा पाएकी थिए ।

त्यस दिन अंग्रेजीको कक्षा संचालन भैरहेको थियो, अचानक शिक्षकले तिमीलाई त्यस दिन पर्ढाईने कविता एकचोटी पाठ गर्न भन्नु भयो, तर तिमी भने मूर्तीबतः चुप बसि रह्यौ । शिक्षकले तिमीलाई पूनः आग्रह गर्नु भयो, यता तिम्रो अनुहारमा भने एकदमै अनौठा भावहरु आए, तिम्रो अनुहार एकदमै असामान्य देखियो, तिम्रो अनुहारको रंग यसरी असामान्य रुपले परिवर्तन हुदैं थियो जसले तिमी माथी गहीरो मानशिक दवाब परेको प्रष्टै देखाउँथ्यो । तिम्रो ओठहरु थर्थराए अनुहारमा पसीनाका केहि बुंदहरु देखा परे र अन्तमा तिमीले त्यो कुरा बतायौ, जुन कुरा सुन्दा कक्षाका सवै स्तव्ध भएका थिए। कक्षामा उपस्थित सवैको नजर एकैचोटी तिमीमा गयो। साच्चै ! तिमी आँखा देख्दैनौ थियौ !! । उफ ! कत्रो बिडम्बना !! कत्रो अभिशाप !! । शिक्षकले तिम्रो वास्तविकता थाहा पाउनु भएपछि माफी मागेर तिमीलाइ बस्न आग्रह गर्नु भयो तर म भने भित्र भित्र जलीरहें ।

ओहो ! म बाट कत्रो गल्ती भएछ, एकजना सोझो व्यक्तिको शारीरीक कमजोरीलाई नबुझेर मैले कत्रो नराम्रो व्यंङ्य गरीछु । मलाई आफैदेखी घृणा लाग्यो र आफ्नै आखाँबाट गिर्न थाले म ।

तिमी सधैं सबैभन्दा पहिला कक्षामा आउँथ्यौ भने कक्षा पछि पनि सबैभन्दा ढिला र्फकन्थ्यौ । त्यसैले एकदिन कक्षा समाप्त भएपछि मैले कक्षामा कोहि पनि नभएको मौका पारेर तिमी संग माफी मागेकी थिएँ । तिमीलाई अझै याद याद छ, त्यतिबेला तिमीले कत्ति सरल किसीमले मलाई भनेका थियौं: “ख्याल ठट्टा भनेको साथी साथी बिचमा नै त हुन्छ नी, यसमा माफी माग्नु पर्ने कुरा नै के छ र”। त्यतिबेला तिम्रो त्यो जवाफलाई मैले माफी दिएकै अर्थमा लिएकी थिए भने तिम्रो त्यो शहनशिलता र सरल व्यबहारले मलाई झन तिमी प्रति आदर जगाइ दिएको थियो ।

तिमीलाई शायद थाहा छैन होला त्यति बेला देखीनै मेरो तिमी प्रतिको झुकाव बढदै गयो । विस्तारै तिम्रो सरल स्वभाव र मिठो बोली तर्फ मेरो आकर्षण बढन थाल्यो । किन हो कुन्नी मलाई सधैं तिमीसंग मात्रै कुरा गरीरहन मन लाग्थ्यो, म खाली तिमीसंग मात्र बस्न चाहन्थें, तिमीलाई भेटन चाहन्थें, तिमीलाई हेर्न चाहन्थें। म आफैले यो झुकावको कारण बुझन सकेकी थिईन । विस्तारै मेरा सहेलीहरुले मलाई तिम्रो नाम लिएर जिस्क्याउन थालेपछि मात्रै मैले अनुभव गरें, मेरो तिमी प्रतिको आदरभाव र मित्रता निक्कै पहिले नै प्रेममा परिणत भैसकेको रहेछ ।

साच्चै मैले भित्र भित्रै तिमीलाई प्रेम गर्न थाली सकेको थिएं । त्यो प्रेम नभएर के थियो त; म हरपल तिम्रो साथ रहन चाहन्थें, तिम्रो सुख दुःखमा मैले प्रतक्ष रुपमा आफूलाई सहभागी भएको पाउँथें, मानौ तिमीलाई र मलाई हरेक कुराले एकै किसीमको प्रभाव पार्थ्यो र हरेक नयाँ घटनाले हामी दुबैलाई एकै किसीमको अनुभूति दिन्थ्यो ।

पहिलो प्रेममा प्रेम शुरु भएको धेरै पछि मात्रै प्रेम गर्नेलाई त्यसको जानकारी हुन्छ भन्ने यथार्थको जानकारी पनि मलाई त्यहि बेलामा अनुभूति भएको थियो ।

हुन त म त्यति बेला निकै खुला बिचारकी थिएं, तर तिमीसंग भेट हुने बित्तीकै म त्यसै-त्यसै कमजोर हुन्थें । आफनो मनको भावना तिमीलाई व्यक्त गर्न मलाई निकै गाह्रो भएको थियो र त्यसको लागी मलाई समय पनि निकै चाहिएको थियो ।

त्यसो त मैलै तिमीलाई साच्चैं प्रेम गर्न थालेको थाहा पाएर मेरा धेरै जना साथीहरुले मलाई रोक्न पनि नखोजेका होईनन । फेरी कलेजका केही पुरुष सहपाठिहरु पनि म प्रति आर्कषित भएको र उनिहरुले पनि मलाई एकतफिर् प्रेम गर्ने गरेको कुरा पनि मैले नबुझेकी थिइन तर म भने आफनै बिचारमा अडिग थिएं । आफ्नो बिचारलाई अभिव्यक्त गर्न मलाई केहि समय लागे पनि अन्तमा एकदिन मैले तिमीलाई आफ्नो चाहना बताएरै छाडें ।

तिमीलाई शायद थाहा छैन होला हाम्रै कक्षाको सहपाठी रमेश पनि मलाई एकतर्फी प्रेम गर्थ्यो । उसले धेरै चोटी घुमाई फीर्राई मलाई त्यो कुरा बताउन खोजेको थियो , तर म पनि सधैं उसको कुरा नबुझेझै गरी त्यसै टारीदिन्थे । तर एकदिन जब उसलाई थाहा भयो की म तिमीलाई प्रेम गर्छ, तब उसले मलाई सीधै सो कुरा बतायो । त्यसपछि मैले पनि उसलाई आफूले तिमीलाई प्रेम गर्ने बताएं । त्यतीबेला उसले मलाई भनेको थियो "यौटा अन्धोसंग प्रेम गरेर तिमीले के पाउँछौं?" । तर उसलाई के थाहा की, शारीरीक शुन्दरता र धनको अगाडी उ स्वयं अन्धो थियो । शिक्षाको ज्योति आखाँको ज्योति भन्दा महत्वपूर्ण हुन्छ र ज्ञानको प्रकाश सुर्यको प्रकाश भन्दा वृहत हुन्छ भन्ने कुरा उसले त्यतिबेला बुझेको थिएन, त्यसैले आफ्नो अज्ञानताको अन्धोपनको कारण उ तिमीलाई अन्धो भन्थ्यो। जुन कुराले मलाई निकै चोट पुगेको थियो । तर त्यो भन्दा पनि गहिरो चोट मलाई त्यतिबेला पुग्यो जब तिमीले एकदमै अस्पष्ट र जटिल वाक्यको सहाराले मेरो प्रेमलाई अस्विकार गरीदिएका थियौ ।

वास्तवमा तिमी पनि केहि हदसम्म रमेशकै जस्तै सोचाई राख्दै थियौ , तर साचों अर्थमा हेर्ने हो भने तिम्रो सोचाई बिल्कुल गलत छ । किनकी पहिलो कुरा त प्रेम भनेको व्यापार होईन जुन केहि पाउनको लागी गरीयोस, अर्को कुरा मेरो तिमी प्रतिको भावनालाई तिमीले “दया” को संज्ञा दियौ, तर मलाई लाग्छ तिमीले पनि राम्ररी बुझेका छौ यो दया होईन माया हो ।

मैले तिमीलाई निकै नजिकबाट चिनेकी छु र तिम्रो भावनाहरुलाई पनि बुझेकी छु । त्यसैले तिमीले मलाई भनेका वाक्यहरुलाई मैले आफ्नो तर्फबाट मात्र नहेरी तिम्रो तर्फबाट पनि विश्लेषण गरेकी छु । मलाई लाग्छ तिमीले पनि मेरा भावनालाई आफ्नो तर्फबाट मात्र नहेरी मेरो पक्षबाट पनि बिचार गरीदीयौ भने हामी दुइ बिच कुनै पनि मतभेद र कुनै दुरी रहने छैन ।

यथार्थमा भन्दा , तिमीले आफुलाई जुन रुपमा हेरेका छौ मैले पनि तिमीलाई त्यही रुपमा चाहेकी छु अब मैले आफूलाई जस्तो सोचेकी छु तिमीले पनि मलाई त्यस्तै संझी दियौ भने तिम्रो र मेरो बिचमा कुनै अबरोध रहने छैन ।

हामी बिच न पहिले कुनै अबरोध थियो, न अहिलेनै कुनै मनमुटाव । मलाई लाग्छ हामी बिच केबल केहि अव्यक्त भावनाहरु मात्र थिए, जुन अब पूर्ण रुपमा प्रष्ट भैसकेको छ । त्यसैले मलाई लाग्छ तिम्रो र मेरो बिच न त कुनै बैचारीक मतभेद छ न त कुनै भावनात्मक असामान्यता । जब तिम्रो र मेरो बिचमा यति धेरै समानता छन र हाम्रो लक्ष पनि एउटै छ भने हामी किन संगै नहिडने ?।

मलाई विश्वाश छ तिमी आफ्नो सानो शरीरीक असक्षमतालाई ठूलो मानशीक कमजोरी बनाएर मेरो र आफ्नो दुबैको जिबनलाई एउटै धारामा बग्नबाट रोक्ने काम गर्दैनौं र मेरो यथार्थ बुझेपछि आफ्ना भावनाहरुलाई पनि सहज ढंगमा व्यक्त गर्ने छौ ।

बिहान लागेको बादल विस्तारै हटिसक्यो र आकाश सफा भएर खुलेको छ। रंगी विरंगी फूलको बिचमा बसेर चराहरु वसन्को गीत गाउँदै छन, मलाइ लाग्छ यो पक्कै पनि शुभ समयको शुचक हो ।

ब्रेल लीपी भर्खरै सिक्दैछु त्यसैले केहि गल्ती अवश्यनै भए होलान आशा छ अवश्य नै माफ गर्ने छौ ।

पत्रको आशमा,

संगीता, काठमाण्डौ !!

09 December 2008

अघटित यथार्थ

Aghatit Yathartha यौटा लामो दूरीमा चल्ने बस सडकबाट निकै तल खोलामा खसेर दूर्घटनाग्रस्त भयो । बसका सबै यात्रीहरुको मृत्यु भएको खबर फैलियो । टिकट काट्नेहरुको नाम जाँचेर हेर्दा देशका एकजना लगनशील लेखक पनि त्यो दूर्घटनामा परेको खबर खुल्यो ।

तुरुन्तै सबैतिर सोकसभाहरु आयोजना भए । पत्र-पत्रिकामा उनका बारेमा प्रशंसाले भरिएका लेखहरु छापिए । उनले गर्दै रहेको साहित्य सेवाको सबैतिरबाट प्रशंसा गरियो र साहित्यको क्षेत्रमा अपूरणीय क्षति भएको घोषणा गरियो ।

यौटा सामाजिक संस्थाले स्वर्गीय लेखकको सम्मानको लागी उनको यौटा सालिक बनाउने कुरा उठायो । अर्को यौटा निर्णायक मण्डलले उनलाई मृत्युपर्यन्त विशेष पुरस्कार दिने निर्णय सुनायो । विभिन्न पत्र पत्रिकाहरुमा पहिले पन्छाईएका उनका लेख रचनाहरु नामको अगाडि 'स्व' लेखेर धमाधम छापिन थाले ।

त्यत्तीकैमा एकदिन मृत घोषित लेखक जिउँदै घर फर्के। दूर्घटनाग्रस्त बस हिड्ने समयमा 'बस स्टप' पुग्न नभ्याएकोले बस छुटी आफू बचेको कुरा उनले सार्बजनिक गराए ।

त्यसको तुरुन्तै शालिक बनाउन अग्रसर संस्थाले ‘जिउँदै व्यक्तिको शालिक बनाउन हुँदैन’ भनेर शालिक बनाउने योजना रद्द गर्‍यो । पुरस्कार दिन तम्सने निर्णायक मण्डलले पनि अर्कै स्वर्गीय

प्रतिभालाई पुरस्कार दियो । उनका लेख रचनाहरु पत्रिकामा छपाउन सम्पादकहरु पुन: अन्कनाउन थाले ।

यसरी मृत्युको खबरले प्रसिद्ध भएका लेखकको चर्चा बिस्तारै हराउँदै गयो र उनको जिउँदो अस्तित्व फेरी भिडमै बिलायो ।

(मधुपर्क – लघुकथा अंक २०५६)

22 November 2008

खैरो चरित्र

संसारको कुनै कुनामा यौटा अनौठो गाँउ थियो । त्यस ठाँउका मानिसहरु शारीरीक रुपमा अन्य स्थानका भन्दा केहि फरक नदेखीए पनि यौटा अनौठो प्राकृतिक चिन्हका कारण उनिहरु अन्य स्थानका मानिसहरु भन्दा भिन्न थिए ।

त्यहाँ जन्मने हरेक व्यक्तिको निधारमा जन्मजात नै यौटा गोलो टिका जस्तै खत हुन्थ्यो र त्यो नै त्यहाँको बिशेषता थियो । असल चरित्रका व्यक्तिको निधारमा सेतो खत हुन्थ्यो भने खराब चरित्रको व्यक्तिहरुमा त्यो खत कालो हुन्थ्यो । यसरी प्रकृतिले नै असल र खराब व्यक्तिको पहिचान गर्राई दिएकोले खराब चरित्रका व्यक्तिहरु समाजमा खुल्ला निक्लेर गलत कार्य गर्न हच्कीन्थे भने असल चरित्रका व्यक्तिहरु आफ्नो सदगुणका कारण शान्त र स्वतन्त्र हिँड्थे ।

समष्टिमा त्यो गाँउ अन्य स्थानको तुलनामा निकै शान्त , शुरक्षित र शुन्दर थियो ।

केहि समय यता त्यहाँ केहि फरक व्यक्तिहरुको प्रबेश भयो , उनिहरुको निधारमा कालो वा सेतो नभई खैरो-खैरो खत देखिन्थ्यो ।

यी खैरो खत भएकाहरु दिनको उज्यालोमा आफूलाई सदाचारीको हिमायति बताउँदै सेतो खतवालाहरु संग हिडंथे भने रातको अध्याँरोमा आफू पनि कालो खतवाला भएको बताँउदै खराब गुटसंग व्यस्त हुन्थे ।

यसरि बिस्तारै त्यस ठाँउमा असल र खराबको पहिचान गर्न गाह्रो हुन थाल्यो र बिस्तारै समाज अस्तव्यस्त हुन थाल्यो ।

हाल त्यो गाँउमा खैरो खतवालाहरुको जड यति बलियो भैसक्यो की उनिहरुले 'सेतो खत हुनेहरु नै खराब हुन' भन्ने बिचार समाजमा लादन थालीसके ।

आजकल सेतो खतवालाहरु रातमा हैन दिनमा पनि डर्राई डर्राई निस्कन्छन् , कालो खतवालाहरु पनि अचानक आएको अप्रत्यासित परिबर्तनले गर्दा रनभुल्लमा परेकाछन भने खैरो खतवालाहरुले विस्तारै पुरै गाँउलाई नै गाँज्दैछन ।

18 October 2008

विज्ञापन

त्यो पसल उसको बाजेको पालामा खुलेको थियो । त्यहाँ खाद्यवस्तुहरु बेचिन्थे र सबै चिजहरु शुद्ध र मिसावटरहित हुन्थे । त्यतिबेला न त पसलको कुनै साईनबोर्ड थियो, न त शुद्धताको कुनै विज्ञापन ।

उसको बाजे पछि उसको बाबुले पसल चलाउन थाले । बाबुको पालासम्ममा समाज निकै परिवर्तन भैसकेको थियो, त्यसैले छिट्टै धनि बन्ने उपाएहरु अपनाएर उसको बाबुले दूधमा पानी, बेसारमा पीठो, महँगो चामलमा सस्तो चामल आदि मिसाएर व्यापार गर्न थाले । ग्राहकहरुको विश्‍वास यथाबत राख्‍नका लागी भने पसल बाहिर एउटा बोर्ड झुण्ड्याईयो :- यहाँ शुद्ध र असली खाद्यबस्तुहरु पाईन्छन्

बाबुको शेषपछि आजकल ऊ आफैं पसल चलाउँछ । उसको हातमा पसल आएपछि पसलको आकार र स्वरुप नै परिवर्तन भईसकेको छ । आजकल त्यो पसलमा गाईको घ्युको त कुरै छाडौं, शुद्ध वनसपति घ्यू पनि पाइँदैन । दूधमा पानी हैन पानीमा दूध मिलाएर बेचिन्छ र पसलमा कुनै चीज शुद्ध पाइँदैन । तर पसल बाहिरको बोर्डमा भने अझै गहकिलो र आकर्षक विज्ञापन राखीएको छ:- यहाँ अति शुद्ध र पूर्ण असली खाद्यबस्तुहरु मात्रै बेचिन्छ मिसावट भएको प्रमाणित गर्नेलाई रु‍ १ हजार रुपैया पुरस्कार

(१९-१२-२०५५, साप्ताहिक)

13 September 2008

कागजी खेल

Kagaji khel त्यो कार्यालयको कम्पाउण्डभित्र निक्कै जमिन खाली थियो । एक दिन खाली जमिनको उपयोग गर्न सकिने देखेर कार्यालय प्रमुखले केन्द्रलाई यौटा पत्र लेखे :-“यस कार्यालय कम्पाउण्डमा खालि रहेको जमिनमा पोखरि खनी माछा पालन गरी अर्थ आर्जन गर्न सकिने राम्रो सम्भाव्यता देखिएकोले सो को लागी रु दुई लाख निकासा गराई पाउँ … ”

केन्द्रबाट तुरुन्तै माग बमोजिमको निकासा भयो । तर रकम प्राप्त भए पछि न त पोखरी खनियो न त माछा नै पालीयो, तर पोखरि तयार भएको कागजी प्रतिवेदन भने एक महिनामा केन्द्रमा पुग्यो ।

प्रतिवेदन पुगेको दुई महिना पछि केन्द्रबाट प्रतिवेदन अनुशार काम भए नभएको हेर्न एकजना अधिकृत जिल्लास्थित सो कार्यालयमा आए । त्यो दिन केन्द्रका अधिकृत र कार्यलय प्रमुखबिच पहिला निक्कै बेर वादविबाद अनि छलफल र सल्लाह भयो र केन्द्रका हाकिम भोलिपल्टै राजधानि फर्के ।

अधिकृत फर्केको एक महिना जत्तिमा जिल्लास्थित कार्यलय प्रमुखले केन्द्रलाई फेरि अर्को यौटा पत्र लेखे :- “ कार्यालयको कम्पाउण्डमा पोखरी खनि माछा पालन शुरु भएको यहाँमा बिधितै होला तर हाल आएर यहाँ कार्यरत धेरै आवासीय कर्मचारीहरुको साना साना केटाकेटी भएको र दिनदिनै हिडंडुल गर्दा र खेल्ने बेलामा सो पोखरिमा खसि कुनै पनि बेला दूर्घटना घट्न सक्ने हुनाले सो पोखरी तुरुन्तै पुर्नु पर्ने भएकोले सो को लागी रु दुई लाख निकासा पाउँ … ”

केन्द्रबाट तुरुन्तै काम शुरु गर्ने आदेश आयो। अनी आदेश आएको एक महिनमा कार्यालय प्रमुखले काम सम्पन्न भएको खबर केन्द्रमा पठाए। तर यसपाला भने केन्द्रबाट निरिक्षण गर्न कोहि पनि आएनन्। बरु बजेट आएको भोलिपल्ट कार्यालय प्रमुख चाहि केन्द्रका अधिकृत भेट्न राजधानि गएका थिए ।

(२५-०५-२०५६ -  साप्ताहिक)

01 August 2008

एकता

त्यो गाउँ सानो भएपनि त्यहाँका महिलाहरु निक्कै जागरुक देखिए, अन्तराष्ट्रिय नारी दिवस मनाउन त्यो सानो ठाउँमा थुप्रै महिलाहरुको उपस्थिति थियो ।


स्वागत भाषण पछि बोल्ने क्रम शुरु भयो । एक जना वक्ताले महिलाहरु शोषित भएको कुरा उठाइन् र प्राय: महिलाद्वारा नै महिलाहरुको शोषण हुने गरेको बताइन् ।


कुराको प्रसंगमा अर्कि वक्ताले महिला विकासको लागि गा.वि.स. मा आएको रकम अर्कै शिर्षकमा खर्च भएको तितो सत्य वताइन् र महिलाकै सकृयतामा सो भएको आरोप लगाइन ।


गा.वि.स.की अर्की महिलाले त्यो रकम वाल स्वास्थको लागि खर्च गरेको जानकारी दिदै सो निर्णयलाई जायज ठहर्‍याइन ।


विरोधी पक्षले वाल स्वास्थ र महिला विकास भनेको भिन्दा भिन्दै कुरा भएकोले त्यसमा हिनामिना भएको आशंका उठाए । खर्च गर्ने पक्षले त्यति वेला महिला विकास भन्दा वाल स्वास्थको स्थिति जटील भएकोले सो विनियोजन नगरी नभएको स्पष्टिकरण दिदै रकम हिनामिना नभएको प्रष्ट्याय ।


त्यस पछि सोहि विषयलाई लिएर प्रश्न, प्रति-प्रश्न , घोच पेच, आरोप प्रत्यारोप र व्यंग्यको वर्षा शुरु भयो र निकै वेर सम्म सभा विथोलियो त्यतिकै हो-हल्लामै साँझ परेकोले आयोजकले सभा विर्सजन भएको घोषणा गरे । अन्तमा तीन चोटी "नारी एकता जिन्दावाद" भन्ने नारा घन्काएर सबै आ-आफ्नो घर तिर लागे ।



05 July 2008

परिवर्तन

हिजो: धर्म र परम्पराप्रति मानिसहरु निक्कै विश्‍वास गर्थे र परम्परागत आधारमा मात्रै विवाह तय गरिन्थ्यो । सबै जातमा सजातीय विवाह मात्रै प्रचलित थियो अनि सजातीय विवाह मात्रै हुनुपर्छ भन्ने समाजको बलियो धारणा थियो ।



आज: धर्मप्रतिको आस्था घट्दैछ, परम्परामा विश्‍वास हट्दैछ । प्रेम विवाहको प्रचलन अलि बढेकोले अन्तर्जातीय विवाह पनि हुदैंछ । बिस्तारै, विवाह सजातीयमा मात्रै हैन अन्तर्जातीय पनि हुन सक्छ भन्ने सामाजिक मान्यता तयार हुदैंछ ।

भोली: शायद सजातीय विवाहको लोपसंगै अन्तर्जातीय विवाह यत्ती बढ्ने छ कि, कतै कतै कसैले सजातीय विवाह गरेमा पनि त्यो अनौठो समाचार बन्ने छ। अहीले फाट्ट फुट्ट अन्तर्जातीय विवाह भए जस्तै त्यति बेला कतै सजातीय विवाह भएमा मानिसहरु यसरी हाँस्नेछन् :- “… हेर न ! पल्लो गाउँमा त बाहुनको छोरी बाहुनलाई नै दिएछन … ।”

19 June 2008

सम्मोहन


हिलो पटक चुनावमा उसले जोडदार भाषण दियो " मैले जितेँ भने बाटो बनाईदिन्छु, ढल खनाईदिन्छु… … । काम नहुनेहरुलाई जागिर हालिदिन्छु, बिजुली नपुगेको ठाँउमा बत्ती बालिदिन्छु‍‍… …" । उसले जनतालाई लोभ्यायो, सबैले उसलाई भोट हाले। उसले चुनाव जित्यो तर केहि काम भएन ।


दोस्रो पटक चुनावमा उसले वक्तव्य फेर्‍यो " …अघिल्लो पटक योजना बनाउँदा र आर्थीक स्रोत जुटाउँदैमा समय बित्यो,… … काम गर्नै भ्याईएन… तर यसपालि जरुर केहि गरेर देखाउनेछु । यौटा मौका फेरि दिनुहोस… …" उसले मतदातालाई फकायो, सबैले उसलाई भोट हाले । उसले फेरी चुनाव जित्यो र फेरी केहि पनि काम गरेन ।


तेस्रो पटक चुनवमा आदर्श छाँट्यो " यहाँ काम गर्छु भन्नेलाई काम गर्ने वातावरण नै छैन, विपक्षीको चाल र पार्टी भित्रको अन्तर्द्वन्द मिलाउदैमा समय बित्छ के गर्ने ? … …अब स्थीती अलि ठिक भएको छ । अब त काम गरेरै छाडछु, केवल एक मौका दिनुहोस… …" उसले भिडलाई झुक्यायो, सबैले उसलाई भोट हाले । उसले पूर्ववत् चुनाव जित्यो अनि पूर्ववत् नै केहि काम पनि गरेन ।


यसपालि चुनावमा उसले के बारेमा भाषण गर्‍यो कसैले बुझेनन्, के कस्तो आश्‍वासन दियो कसैले सुनेनन्, तर पटक पटक उसलाई भोट दिँदादिँदा बानी परिसकेका मतदाताहरु यसपालि पनि धमाधम उसैको चुनाव चिन्हमा छाप लगाउँदै थीए ।


(४-१-२०५६,गोरखापत्र)



13 June 2008

उपचार खर्च

(आफ्नो सबै रचनाहरु एकै ठाँउमा राख्‍ने क्रममा, धेरै पहिला गोरखापत्रमा प्रकाशित यो लघुकथा टाँस्दैछु आज)

उपचार खर्च

(लघुकथा)

कारखानाको ईमान्दार कर्मचारी थियो । एकदिन कारखानालाई आगलागीबाट जोगाउने क्रममा उ नराम्रोसंग घाईते भयो । तल्लो तहको कर्मचारी भएको र उपचारार्थ विदेश पनि जानु पर्ने देखीएकोले उसले आफ्नो शाखा प्रमुख समक्ष उपचार खर्चको लागि निवेदन गर्‍यो । घटनाको प्रकृतिको गहन अध्ययन पश्‍चात् शिफ्ट ईन्चार्जबाट कार्यालय प्रमुखलाई खबर गरियो ।

संवेदनशील विषय भएकोले शाखाबाट सिफारिश सहितको टिप्पणी उठाइयो । उपचार खर्च बढी देखीएकोले हाकिम एक्लैले निर्णय गर्न आँट गरेनन् र उक्त विषयलाई बोर्ड बैठकबाट पारित गर्ने आश्‍वासन दिईयो ।

जरुरी कामको सिलसिलामा विदेश गएका बोर्ड अध्यक्षले फर्कनासाथ बैठक बोलाए। हचुवाको भरमा त्यत्रो रकम खर्च गर्दा आर्थीक अनियमितता बढ्न सक्ने संम्भाबना देखिएकोले अध्यक्षले घटनाको विस्तृत अनुसन्धान गरि प्रतिवेदन पेश गर्न यौटा समिति गठन गरे ।

समितिले तदारुकताका साथ दुई हप्ताभित्रमा आफ्नो निर्णय पीडित कर्मचारीको पक्षमा भएको प्रतिवेदन पेश गर्‍यो ।

यसरी दूर्घटना घटेको करिब दुई महिनापछि उसको उपचार खर्च सरकारले व्यहोर्ने निर्णय भयो, तर अत्यधिक पीडा र आर्थिक विपन्नताका कारण उपचार हुन नसकी एक हप्ता अगाडि नै उसको मृत्यु भैसकेको थियो ।

18 May 2008

दुई सुत्रकथा

(आज, धेरै पहिला मधुपर्कमा प्रकाशित दुई सुत्रकथा टाँस्दैछु)

१‌. दृष्टिकोण

“ हैन अस्ति हेरेको केटा त ठिकै जस्तो लागेको थियो , तर तपाईले छोरी दिन मान्नु भएन रे … ”

“ के गर्नु कतैबाट पनि कुरो मिलेन”

“ किन राम्रो थिएन र ?”

“ राम्रो त राम्रै थियो … ”

“ पढाइ पुगेन कि कसो ! ”

“ हैन एम‍.‌‍‍ ए‍. पास नै थियो”

“ अनि !के भो त ! बेरोजगार थियो र? ”

“ कहाँ हुनु नि सरकारि अधिकृत थियो ”

“ अनि के मिलेन त, जातै मिलेन कि कसो?”

“ जात मात्रै नमिलेको भए त कुरा मिलाउन सकिन्थ्यो … । … के गर्नु … त्यो केटा त अर्कै पार्टीमा लागेको रहेछ”

२. न्याउरी मारी पछुतो

अस्तिसम्म उनीलाई सानै देखेर, उसले लेखिसकेको प्रेमपत्र पनि च्यातेर फालेको थियो ।

आज बिहानको खबरले पछुताई रहेको छ, उनिलाई त हिजै अर्कैले भगाईसकेछ ।

08 May 2008

नारनदाईको होटेल

(धेरै देखी यौटा कथाको 'प्लट' दिमागमा थियो, आज त्यसैलाई यहाँ टाँस्दैछु )




उसको वास्तबिक नाम त शायद नारायण प्रसाद बुर्लाकोटी हो क्यार, तर सबैजना उसलाई 'नारन दाई' भन्थे । कुनै जिल्ला सदरमुकामको सडक छेउमा उनि यौटा सानो खाजा र खाना खुवाउने होटेल चलाउँथे।


भन्नलाई 'होटेल' भने पनि त्यो वास्तबमा केवल यौटा टहरा मात्रै थियो । चारैतिर जस्ता पाता उठाएर घेरीएको र छत पनि जस्ता ले नै छाएको त्यो टहरा मा एक्कै चोटि १० जना सम्मले खाना खान मिल्ने गरी पुरानो खाट र बेन्चहरु लहरै राखिएका थिए । त्यसो त नारन दाई उनकि श्रीमती र ३ जना केटा-केटीको सुत्ने, खाने, बस्ने कोठा, वा समष्टिमा उनको 'घर' पनि त्यहि नै थियो।


केहि समयको लागि कार्यालय बाट खटाईएकोले मेरो पनि बिहानको नास्ता देखी बेलुकोको खाना सम्म सबै खाने ठाँउ त्यहि नारनदाईको होटेल नै थियो । टहरा नै भए पनि जागरिला बुढा बुढिले सरसफाईमा राम्रै ध्यान दिएकाले प्राय: वरिपरिका कार्यालयका एक्ला कर्मचारिहरु त्यहि नै खाना खान जान्थें ।


हसिलो स्वभाव र मिजासीला नारनदाईको होटेलको अर्को विशेषता के थियो भने जिल्ला भरिका कार्यालयका खुफीया खबर र "ब्रेकिङ न्यूज" आधिकारिक रुपमा आउनु अगाडि त्यहि बाट खुल्ने गर्थ्यो ।


बिहान ६ बजेको चिया देखि दिनको खाना, खाजा गर्दै कहिले काहि हाकिम साबहरुको मुड चलेको दिनमा रातको बिजुली पानि समेत त्यहि चल्थ्यो । वरिपरि त्यत्ती सफा खाने ठाँउ नभएको र मानिस पनि फरासिला भएकाले नजिकका सबै सरकारी वा निजि कार्यालका सबैको बिहान देखि बेलुकि सम्म भेला हुने अखाडा त्यहि भएकोले त्यहिबाटै सबै कार्यालयको कार्यनीति देखी लिएर कर्मचारीहरुको सरुवा-बढुवा मात्रै हैन कुन अफीसमा कुन मान्छे जि एम बनेर आउँदै छ र कुन हाकिम कुन दिन फर्कदैँछन समेत त्यहिबाट सबैलाई थाहा हुन्थ्यो ।


एक दिन बिहान चीया खाँदै गर्दा नारन दाई मेरो नजिकै आए "…..सरहरुको हाकिम पनि सरुवा हुदैंछन रे होईन ?" उनले प्रश्न सोधको झै गरि मलाई यौटा नयाँ खबर दिए। "खै नारन दाई मलाई त थाहा छैन…." मैले अनभिज्ञता प्रकट गरें । नभन्दै त्यहि दिन दिउसो हाकिमको काठमाण्डौ सरुवा भएको समाचार आधिकारिक रुपमा कार्यालयमा फैलीयो । मेले सोचें नारनदाई पक्कै पनि हाउडे कुरा गर्दैनन् र हामिलाई भन्दा पहिला यिनलाई यस्ता गोप्य कुरा थाहा हुन्छन।


त्यसो त कहिले काँहि जाँडको सुरमा केहि कर्मचरिहरु उनलाई " नारनदाई खोई हाम्रो पनि सरुवा गराई देउन" , " मेरो पनि बढुवाको सिफारिष गरिदेउन" भनेर जिस्क्याउने गर्थे तर नारनदाई ति सबैलाई हासेरै उडाईदिन्थे ।


एक दिन म अबेर गरि रातको खाना खान पुग्दा, खाने ठाँउमा अरु कोहि थिएनन्, अनि खाना पनि सक्की सकेकोले नेपालिहरुको राष्ट्रीय त्वरित भोजन याने चाउचाउ बनाउदैँ नारनदाई मसंग कुरा गर्न थाले "…..अनि सर!, 'त्यो' भवनको ठेक्का पनि क्यान्सील हुने भो रे नी हैन?" हाम्रै अफिस परिसरमा बन्न लागेको नया भवनको शिलान्यास समेत भैसकेको अबस्थामा ठेक्का के क्यान्सील होला र भन्दै मैले भने " हुन्न होला नारनदाई यो ठेक्का किन क्यान्सील हुन्छ र? …..कि कतै खुफीया खबर पाउनु भयो…..?" । "…..अनि के सरलाई पनि यो ठाँउ मन परेन रे?" उसले प्रसंग फेरेर अर्कै कुरा सुरु गर्‍यो "….. हैन मलाई यो ठाँउ मन परेन भनेर कसले भन्यो र? "खै काठमाण्डौ सरुवा हुन खोज्दै हुनुहुन्छ भनेर काग ले भन्थ्यो नि सर….." । "ठाँउ मन नपरेको हैन, तर घरमै बसेर काम गर्न पाए अलि सजिलो हुन्थ्यो नी….." मैले सरुवा हुन खोजेको कुराको भने सत्यता प्रकट गर्दै आफ्नो तर्क तेर्स्याएँ "…..ल त नारन दाई तपाईको 'काग' ले अरु पनि के के खवर दिन्छ मलाई बताउँदै गर्नु होला है" चाउचाउ सक्काएर म डेरातर्फ हिडें।


त्यसको भोलिपल्ट कार्यालयमा दुईवटा निर्णयको खबर आयो । यौटा नारनदाईले भने जस्तै भवन निर्माणको टेण्डर रद्द भएको थियो भने मेरो काठमाण्डौ सरुवाको पनि पत्र मैले पाँए । मलाई पत्र पाएको मितिले १५ दिन भित्र काठमाण्डौ कार्यालयमा हाजिर हुन निर्देश दिईएको थियो । म सरुवा पुर्जी लिएर सिधै नारनदाई कहाँ पुगेँ । नारनदाईले शायद म भन्दा पहिल्यै सो कुरा थाहा पाईसकेका थिए क्यार …..टाडैबाट मलाई "ल सर! घर जाने हुनुभयो हैन ….. तर माया नमार्नु होला" भन्दै तात्तातो चिया ले सत्कार गरे।


१५ दिनको म्याद भए पनि घर मै सरुवा भएकोले म सातौ दिनमा नै आफ्नो कार्यभार सुम्पेर काठमाण्डौ फर्कने तयारिमा जुटेँ ।


पत्र पाएको सातौं दिनमा म सबैसंग बिदाबारी भै काठमाण्डौ फर्कने उपक्रममा लागें, अफिसका हाकिम देखि सहकर्मी अनि चिनजानका सबैसंग बिदा भएपछि म चिया पिउने बहाना गरि नारनदाईसंग पनि बिदा हुन म नारनदाईको होटेलतर्फ लागें ।


कार्यालयको कम्पाउण्ड बाट नजिकै बाटो छेउमा रहेको नारनदाईको होटेलनिर आज निक्कै भिड जम्मा भएको थियो, म अनायश जम्मा भएको भिडबाट सशंकित हुदैं छिटो छिटो पाईला चालेर उनको होटलतर्फ लाग्न थालें…..त्यहा धेरैको संख्यामा तमासे र दर्शकहरु जम्मा भएका थीए ….. अलि नजिक गएर हेरें नारनदाई नीन्याउरो मुख लाएर आफ्ना झिटि गुण्टा र हाँडी चिण्डा त्यो टहरा बाहिर सारेर उदाश बसिरहेका थिए, उनको नजिकै उनका ३ जना केटा-केटि र श्रीमती पनि रनभूल्ल र पिडित अनुहारमा माटोको गाग्रो, फुटेको दराज अनी भाँच्चिएको खाट टहरा बाहिर सार्दै थिए ।


भिडको गाँईगुँई बाट थाहा भयो उनको त्यो होटेल राजमार्गको किनारामा निर्माण कार्य गर्न नपाईने जग्गामा बनेको रहेछ, त्यसैले नगर बिकासले भत्काउन लागेको रहेछ । अझै नजिक पुग्दा टहरा नजिक यौटा डोजर बिस्तारै बिनाशको दाह्रा फैलाउदै टहरा तर्फ बढदै गएको देखीयो । नारनदाई र उनका परिबार आफ्नो घर र कमाईखाने थलोको बिनास हेर्न नसकी भक्कानो फूटालेर रुन कराउन थाले । मलाई अझ नजिक जाने शाहस भएन र नारनदाईसंग बिदा नमागी ठाडै खुट्टा फर्के। सबैजनाको खबर पहिल्यै थाहा पाउने नारनदाई आज आफ्नै खबर पाउन नसकि बेसहारा बनेका थिए र सधै तिनकै होटेलमा खाने, पिउने, तिनैलाई जिस्क्याउनेहरु मुक दर्शक बनि हेरिरहेका थिए ।

08 April 2008

विक्षिप्त दर्शन

नको भनाइअनुसार उनी कार्यगत भ्रमणको सिलसिलामा नेपाल आएकी थिइन् ।


काठमाण्डौको विमानस्थलबाट बाहिरिएपछि तिनले एकजना कलिलो ठिटालाई आफ्नो सामान बोक्‍न लगाएर आफ्नो गाडीमा राख्‍न लगाइन् । आफू कार्यमा व्यस्त रहँदा उनले आफ्नो गृहकार्य र सरसफाइका लागि एकजना १३-१४ वर्षकी केटीलाई आफ्नो निवासमा राखिन् । करिब एक महिनाको काठमाडौँ-बसाइको क्रममा तिनले बौद्धमा गएर केटाकेटीले बुनेका गलैँचा किनिन्, न्युरोडमा बसेर स्कुल जाने उमेरको केटालाई आफ्नो जुत्ता पालिस गर्न लगाइन् । कुनै दिन केटाकेटीलाई आफ्नो भारी बोक्‍न लगाइन् त कुनै दिन सडकछेउमा मकै पोलेर बेच्ने बालिकासँग मकै किनेर खाइन् ।


काठमाडौँपछि उनी नेपालका अन्य सहरहरूमा घुम्‍न गइन् । पोखरामा तिनी १३-१४ बर्से केटोले चलाएको डुङ्गाबाट फेवातालमा घुमिन्, जनकपुरमा बालपन नै नगएको फुच्चेले चलाएको रिक्साबाट सफर गरिन् । कतै खातेहरूलाई पैसा बाँडेर हिँडिन्, कतै गिट्टी कुट्ने बच्चाहरूसँग फोटो खिचेर रमिन् ।


यसरी आफ्नो कार्यगत भ्रमण सकेर उनी स्वदेश फर्किन् । उनी स्वदेश फर्केको केही समयपछि बजारमा यौटा नयाँ किताब आयो र त्यसपछि मात्रै उनको कार्यको बारेमा सबैलाई थाहा भयो ।


उनले सो किताब नेपालमा भएको बालश्रमको बिरोधमा लेखेकी थिइन र बालबालिकालाई कुनै पनि किसिमको श्रममा लगाउन नहुने बारे आप्नो किताबमा गहकिलो तर्क दिएकी थिइन् ।

20 February 2008

ठेक्काको काम

त्यतिबेला उ जवान थियो ।हट्टा कट्टा जिउडाल र गठीलो शरिर , त्यो भन्दा पनि उसको आस्थाका कारण उ सबैतिर परीचित थियो ।

राजाको जन्मदिन, भ्रमण र अन्य समारोहहरुमा उ आफ्ना साँच्चै विशाल जत्थाहरु सहित सवारि-स्थलहरुमा पुगेको हुन्थ्यो । अनी सवारी-क्रममा गगन भेदी नारा लगाँउथ्यो :-"हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ!", "हाम्रो भाषा हाम्रो भेष प्राण भन्दा प्यारो छ!" उसको पछाडी लागेका विसाल भीड र उस्को जोस देखेर सबै भन्थे " यो चानचुने मान्छे होईन 'भित्र' सम्म पहुँछ छ यसको!"

सम्मसमयले विस्तारै कोल्टे फेर्दै जाँदा बिचमा उसले "प्राण भन्दा प्यारो" को सट्टा "प्रजातन्त्र जिन्दावाद!" को नारा लगाउन थालेको थियो। नारा फरक भए पनि उस्को पछाडी 'जिन्दावाद!' को ताल दिंदै हिडनेको संख्यामा केहि कमी आएको थीएन। उ आन्दोलनमा पुरै होमीएको थियो र त्यती बेला सबैजना उसलाई 'यो प्रजातान्त्रिक विचारधाराको मानिस हो! फलानो दलको 'माथि' सम्म वोलवाला छ' भन्ने गर्थे ।

समयले अझै कोल्टे फेर्‍यो, आजकल ऊ "सामन्ति शासन चाहिदैन","गणतन्त्र जिन्दावाद!" भन्ने नाराका साथ पहिलेको भन्दा ठुलो भिडका साथ सडकमा देखिन्छ। आजकल पर्यव्यक्षक र पत्रकारहरु उसलाई "खाँटी गणतन्त्रवादी" भन्छन् अनि बजारमा 'हाई कमाण्ड' सम्म उसको पकड दर्‍हो रहेको हल्ला छ।

वास्तबमा ऊ न पञ्यातको मान्छे हो, न राजाबादी, न कांग्रेस, न कम्यूनिष्ट । तर कुरा के भने उ संग हुल जम्मा गर्ने खुबी र भिड परीचालन गर्ने क्षमता छ अनी त्यो नै उस्को पेशा हो। कहि कतै कुनै दल वा गुटलाई शक्ती प्रदर्शन गर्नु पर्‍यो भने उसले त्यो कामको जिम्मा लिन्छ जती जना मान्छेको भुक्तानी पाउँछ त्यत्ती नै मानिसको जुलुस ठेक्कामा परीचालन गरिदिन्छ ।

24 January 2008

बोल्ने कला (चिनियाँ नीति कथा)

बोल्न जान्ने तर के बोल्दा के प्रभाव पर्छ भन्ने पत्तो नपाउने एकजना महाशयले आफ्नो घरमा रात्रि भोजको आयोजना गरेका रहेछन्। तर भोज शुरु हुने बेला सम्म पनि सबै पाहुनहरु उपस्थित भईसकेका रहेनछन् । ५० जना पाहुनाहरु आउनु पर्नेमा जम्मा ३० जना मात्रै उपस्थित देखेपछि उनले आफ्नो स्वाभाविक शैलीमा भनेछन् : "खै , आउनु पर्ने मान्छे त अझै आएनन् नि !" उनको कुरा सुनेर उपस्थित पाहुनाउरु मध्य केहिले सोचे- 'आउनु पर्ने मान्छे त आएनन् , मतलव हामि त नआउनु पर्ने मान्छे पो रहेछौं ।" यति सोच्ने वित्तिकै उपस्थित ३० जना मध्य १० जना त्यहा बाट निस्केछन् ।

ति महाशयले आईसकेका पाहुना पनि फर्केको देखेर फेरि भने : " नजानु पर्ने मान्छे पनि गए "। यो वाक्यलाई पनि बाँकी पाहुना मध्यका केहिले अर्कै अर्थमा लिए – ' ओहो ! उनिहरु नजानु पर्ने मान्छे भए जानु पर्ने मान्छे त हामि पो रहेछौं "। यति सोचेर फेरी अरु १० जना पाहुन पनि त्यहाबाट निस्केछन ।

यस पटक उसलाई आफूले बोल्दा केहि गल्ति भएको आभाष भएछ र उनले आफूलाई प्रष्ट पार्ने हेतुले भने :" मैले उनिहरुलाई लक्षित गरेर त्यसो भनेको होईन" । तर उनको य वाक्यको पनि अर्कै अर्थ निक्ल्यो । बाँकी १० जनाले सोचे 'ति जानेहरुलाई लक्षीत नगरेको भए हामिलाई नै लक्षीत गरेर भनिएको होला' । यति सोचेर बाँकी १० जना पनि तुरुन्तै विना भोजन त्यहा बाट निस्केछन् ।