स्वागतम्। तपाइ घुम्दै फिर्दै यहाँ आईपुग्नु भएको हो भने मेरो मुख्य ब्लग अब यहाँ छ ।

05 February 2010

मैले नपढेको किताब

“यो संसार अनौठो छ”, “हाम्रो दुनियाँ आश्चर्यपूर्ण छ” यस्ता वाक्याशंहरु मैले सानैदेखि सुन्दै आएको हो । तर के कति कारणले यो संसार अनौठो छ भन्ने चाही मैले त्यो दिन मात्रै थाहा पाएँ जुन दिन अघिल्लो दिन मात्रै किनेर ल्याएको मेरो एउटा किताब कोठैबाट गाएब भयो ।

अघिल्लो दिन मात्रै लेराएको किताब गाएब हुनुलाई मैले लरतरो हिसाबले लिइँन र धूँईपत्ताल खोजी सुरु गरें । टेबुलमा, घर्रामा र अन्य सम्भाव्य स्थानमा पुस्तक नभेटेपछि मनमा शंका उठ्यो ‘कतै चोरी त भएन ...!’। तर हैन.. टेबुलमा रहेको टेलीभिजन, पर्सको पैसा र अन्य केही ‘टार्गेटेट आइटम’ जहाँका त्यहि थिए । समाजमा व्यवसायीक रुपमा किताब मात्रै चोर्ने चोर कुनै पनि छन भने भिन्दै कुरा, नत्र यो चोरको काम हुँदै होईन भन्नेमा पुगें म ।

चोरीएको हैन भने कहाँ गयो त? । म पून: आफ्नै घरको ‘गुगल सर्च’ मा लागें, घरका सबै दराज, पलंङका अन्तरकुन्तर र फ्रिज अनि पुरान कसौँडी र प्रेसरकुकर समेत खोलेर हेर्दा पनि किताब नभेटेपछि यसलाई एउटा आश्चर्यको रुपमा लिनु बाहेकको हर्को बिकल्प बचेन पनि ।

किताब मंहगो थिएन, तर मलाई एकदमै मनपर्ने लेखकद्वारा लेखिएको थियो, त्यसैले सय रुपैयाको एउटा किताबका कारण मेरो तीन दिनको निन्द्रा र चार दिनको भोक हरायो ।

पाँचौ दिन बिहान उठने बित्तीकै कसैले मेरो ढोका ढकढक्याएको सुनें, ढोका खोलेर हेर्दा एकजना परिचित मित्र ढोकामा उभिएका थिए। उनले भित्र छिर्दा छिर्दै भने “...सरी है! ... म शुक्रवार तिम्रोमा आएको थिएँ, तिमी रहेनछौ तर तिम्रो टेबुलमा ‘यो किताब’ देखेँ...” उसले अगाडि के के भन्यो मैले राम्ररी बुझीन... मेरो भोक निन्द्रा हरण गर्ने ‘त्यो किताब’ उस्ले टेबुलमा फ्याट्ट राख्ने बेलासम्ममा मैले करिब करिब उ मेरो साथी हो भन्ने समेत बिर्सन लागीसकेको थिएँ । कमसेकम किताब लगेपछि एकचोटी फोन गरेर ‘तिम्रो किताब मसंग छ है !’ मात्रै भनेक भएपनि त मैले पागलपन सवार भएजस्तो गरी घरका भाँडाकुँडा समेत खोतलेर खोज्नु त पर्दैन थियो नि ।

“तर साथी, यो किताब साँच्चै पठनीय र रोचक रहेछ ...” उ म तर्फ हेरेर --मेरो मनको भाव देखी अन्जान -- मुसुक्क मुस्कुरायो । “...साँच्चै तिमीलाई कस्तो लाग्यो यो किताब?, तिमीले त पढिसक्यौ होला नि ...” । उसको मुस्कानसंगै मेरो रिस सेलाईसकेको थियो र म बिचारशुन्य यन्त्रवत उसलाई हेर्दै थीएँ ।

जे होस किताब भेटिएकोमा खुशी नै लाग्यो । मेरो मित्र एकैछिनको भला कुसारी पछि किताब मलाई फिर्ता गरेर फर्क्यो । उ फर्केको केही मिनेटमा नै फेरि ढोका ढकढक्याएको आबाजसंगै मेरो अर्को साथीको प्रवेश भयो ।“ ... ओहो !, तिमीसंग ‘यो किताब’ छ...?” कोठामा प्रवेश गर्ने बित्तीकै अभिवादन वा भलाकुसारीका दुई शब्द पनि नबोली उसले किताबतर्फ इशारा गर्‍यो, मानौं मेरो टेबुलमा किताब हैन हजार वाटको बत्ती छ ।

“..हेरन, मैले यो किताब खोजेको तीन महिना भयो..., “ उस्को कुरा मलाई किताब माग्न बनाईएको भूमिका हो भन्ने जान्न गाह्रो भएन । तर आफैले नपढेको आफ्नो किताब अरु कसैलाई दिने मुडमा नभएकोले उसले ‘यो किताब मलाई देउन’ भन्नुभन्दा पहिलै मैले बोलीहालेँ “हेर...यो किताब मैले नै पढ्न भ्याएको छैन..” “ठिकै छ नि, तिमी पछि हेरन, पहिला म पढ्छु...” उसले अप्रत्यासित उत्तर दिँदै भन्यो “...तिमी साह्रै ढिला पढ्छौ...तिमीलाई यो किताब पढि सक्काउन २ हप्ता लाग्छ.... बरु मलाई दियौ भने म ३ दिन मै पढेर फिर्ता गरिदिन्छु ...” । उसले कुराकानी यसरी बढायो, मानौ, उ मेरो हैन, म उसको किताब माग्दै छु । तर जे भएपनि आफुले किताब नपढि अरुलाई नदिने निर्णयलाई कार्यरुप दिँदै मैले उसलाई एक हप्ता पछी आउन भनें । म मनमनै सोच्दै थिएँ, साथी हिँड्ने बित्तीकै म त्यो किताब पढ्न सुरु गर्छु ।

साथी फर्क्यो, तर किताब हातमा आएपछि किताब हराउँदा आएको जस्तो पढ्ने ज्वारभाटा र जोश पनि शान्त भैसकेको थियो। मानिसको स्वभावै यस्तै त हो नि, नपाउन्जेल तिर्सना, पाएपछि बिर्सना भने जस्तै एक हप्तासम्म किताब मेरो टेबुलमै रह्‍यो भने आलस्यलाई समयाभावको नाम दिएर मैले भने किताबको एक पन्ना पनि पल्टाइँन । मैले साथीलाई दिएको एक हप्ते समयमा एक पन्ना पनि नपल्टाए पनि मेरो साथी भने एकहप्ता पुगेकै दिन ठिक समयमै मकहाँ आइपुग्यो । “ कस्तो रहेछ त किताब ...? ” , “हेरेको छैन...” मेरो उत्तरलाई बीचमै काटेर उस्ले सोध्यो “के रे..., हेरेकै छैन रे..?, बरु अस्ती नै मलाई दिएको भए म नै हेर्थेँ नि..” । “हैन... मेरो मतलब हेरी सकेको छैन...” मैले झूठको सहारा लिँदै आफूलाई सच्याएँ । “मैले पहिलै भनेको हो नि तिमीले यही गतिमा पढ्न थाल्यौ भने यो किताब सक्न ३ महिना लाग्छ... खै देउ, बरु म ३ दिनमै सक्काएर फिर्ता दिन्छु “ । यसपाला मैले पनि केही नभनी किताब उसको हातमा थमाईदिएँ ।

मेरो मित्र कुरा धेरै गर्ने भए पनि समयको मामलामा एकदमै विश्वासीलो थियो । उसले चौथों दिन बिहानै किताब फिर्ता गर्‍यो । “..साँच्चै नै ज्यादै राम्रो किताब रहेछ है...” “अँ ... हो...” अचानक मेरो मुखबाट निस्क्यो । “हैन तिमीले त पुरै पढी सकेका छैनौ हैन र ..” मित्र फेरि आफ्नो स्वभाव अनुसार धाराप्रवाह बोल्न थाल्यो “...पहिलो खण्डमा त ... मात्रै छ। दोस्रोमा ..., तेस्रोसम्म पुग्दा .....” । मैले याद गरीन उसले कति बेर बोल्यो, तर किताबको सम्पूर्ण बखान सक्काएर मात्रै उसले सास फेर्‍यो।

मेरो मित्र मलाइ किताबको पुरै आख्यान सुनाएर फर्कने बित्तिकै अर्का एकजना सहकर्मी मेरो कोठामा छिरे । “तिमीसंग ‘त्यो किताब’ छ रे हैन?” सहकर्मीको प्रश्नको उत्तर नै नदिई किताब नै उसलाई थमाएँ मैले।

केही दिन पछि ति सहकर्मीले पनि किताब फर्काए र किताब फर्काउन आउँदा किताबका बारेमा चर्चा गर्दै आफ्नो धारणा पनि सुनाए। समय यसरी बित्दै जाँदा मेरा साथीहरु र साथीहरुका साथीहरु समेत सबैले सो किताब पढि सिध्याए र हरेक पाठकले पढीसकेपछी सो किताबको बारेमा आ-आफ्ना दृष्टीकोण र बिचारहरु मलाई सुनाए । यसरी मेरो पन्ध्रौं साथीले किताब हेरेर फर्ता गर्ने बेलासम्ममा मलाई किताबको बारेमा पर्याप्त जानकारी भैसकेको थियो । हरेक साथीले किताब फर्काउँदा किताबप्रति राख्‍ने आफ्नो धारणा र बिचारका कारण मलाई किताबको बारेमा जानकारी मात्रै भएन, सो बारेमा भिन्न भिन्न दृष्टीकोण र मत मतान्तर बारेमा समेत यथेस्ट ज्ञान भैसकेको थियो ।

दिन बित्दै जाँदा, एक पन्ना नै नपढि किताबको हरेक खण्डका बारेमा म धुरन्धर ज्ञाता मात्रै बनिन, किताब किनेको चौथो महिना पुग्दा मेरो किताबको रुप नवयौवना बाट बृध्दाको जस्तो हालतमा पुगि सकेको पनि थियो । म आफू किताबलाई माया गरेर किताबमा नाम समेत नलेख्‍ने मान्छे भए पनि मेरो किताबका प्राय: प्रत्येक पन्नामा मेरा कुनै न कुनै मित्रको नाम लेखिएको थीयो। किताबमा भएका कतिपए नाम त मैले कहिल्यै नचिनेका मानिसका समेत थिए। किताबका कैयौं पन्ना च्यात्तीएका टेपले टालिएका थिए भने कुनै पन्नामा कसैको फोन नम्बर त कुनैमा केही नोट अनि कतै चिया, कफिको दाग त कही कही तेलको धब्बा समेत थिए।

पहिला त साथीहरुको बखानबाटै किताब पढेभन्दा बढि जानकारी भएको त्यसमा पनि किताबको यो हालत देखेपछि मलाई झनै त्यो किताब “फेरि पढ्ने” जाँगर नै चलेन । किताब पल्टाएरै नपढे पनि मेरो कोठामा मित्रहरु आउँदा सो किताबको चर्चा चल्ने क्रम भने अझै जारी नै छ । कहीलेकाही सो किताबको बारेमा मैले गरेको बिश्लेषण र परिचर्चा सुनेर मेरा केही साथीहरु मलाई सो किताबको बारेमा समिक्षा लेख्न समेत उक्साउँछन । म मनमनै उनिहरुको कुरा सुनेर हाँस्छु (पढदै नपढेको किताबको बारेमा कसरी समीक्षा लेख्ने Open-mouthed)

अहिले पनि सो किताब मेरो कोठाको टेबुलमै छ। यदि तपाईले पनि पढ्नु भएको छैन भने तपाई पनि पढन सक्नुहुन्छ । तपाई आउँदा म भेटीईन भने तपाई पनि किताब बिना सूचना लिएर जानसक्नु हुन्छ, फिर्ता गर्ने बेलामा एक पटक सरि भन्नुस , बस ।